चाँदनी यादव हत्याका ६ जना अभियुक्त कारागार चलान

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार १४:५३

विराटनगर । विराटनगरमा मारिएकी भारत छपराकी १४ वर्षीया चाँदनी यादवको हत्याका ६ जना अभियुक्तलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश मनिराम ज्ञवालीको इजलासले हत्याको आरोपमा पक्राउ परेकाहरुलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आइतबार आदेश दिएको हो । आदेशलगत्तै अभियुक्तहरुलाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

उनका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अभियुक्तलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न इजलासबाट आदेश भएको हो । प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता रहेको अनुसन्धानबाट पत्ता लाग्यो ।

उनकोे हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको प्रहरीले जनाएको छ । आमा र मामाबाहेक हत्यामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादवको मिलेमतो रहेको अनुसन्धानबाट यकिन भएको छ ।

प्रहरीले अनुसन्धान सकेर मिलिस (अनुसन्धान प्रतिवेदन) बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै ६ जना अभियुक्तविरुद्ध जिल्ला अदालत मोरङमा गत मंगलबार ज्यान सम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको थियो । अदालतमा बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएर अभियुक्तलाई थुनामा पठाउने आदेश आएको सूचना अधिकारी बुढाथोकीले बताए ।

उनका अनुसार प्रतिवादीमध्ये आमा र मामाविरुद्ध कर्तव्य ज्यान तथा अरु ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता भएको छ । कसुर ठहर भयो भने मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।

विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्र चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर माघ ११ गते दिउँसो हत्या गरेपछि राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरिएको प्रहरीले पत्ता लगाएको हो ।

खाल्डोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव प्रहरीले माघ १८ गते उत्खनन गरी कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर कानुनी कारबाहीको प्रक्रिया बढाएको थियो । प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लाग्यो ।

‘हत्यामा आमा र मामा प्रत्यक्ष संलग्न रहेको पाइयो । घाँटी थिचेर मारेका रहेछन्,’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया भन्छन्, ‘अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको पाइयो । ‘पोस्टमार्टम रिपोर्ट’मा पनि घाँटीमा दबाब परेर मृत्यु भएको उल्लेख छ ।’

एसपी चिमरियाका अनुसार चाँदनीको हत्या मामाघरकै एउटा कोठभित्र भएको हो । शव व्यवस्थापन गरेपछि त्यो कोठालाई खाली छाडिएको उनले बताए । भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्ध रहेको खुल्यो ।

केही समयअघि भागेर बिहेसमेत गरेका थिए । छुटाएर घर फर्काएपछि बाबुआमा पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए । विराटनगर आएकै भोलिपल्ट बुवा लालमन भारतस्थित घर फर्किए ।

आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन् । छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिएको एसपी चिमरियाले बताए ।

उनका अनुसार मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरुकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको खुल्यो । छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो । सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन् । ‘मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको समेत देखिन्छ,’ उनी भन्छन्, ‘त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो ।’

मामाघर आएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डोभित्र शव भेटेको हो ।

सुरुमा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको प्रहरीलाई बताएका थिए । प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । कुरा बाझिएपछि गम्भीर ढंगले अनुसन्धान अघि बढाउँदै प्रहरीले खोजतलास गर्दा शव भेटियो । लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.