
विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि हुनुपर्ने मतदान फेरि सरेको छ । पार्टीको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) हुने भनिएको मतदान भोलि (बुधबार) बिहानसम्मका लागि सरेको हो ।
यसअघि निर्वाचन समितिले मंगलबार बिहान ९ बजेबाट मतदान सुरु गर्ने बताएको थियो । सहमतिको प्रयास गर्ने भन्दै पुनः दिउँसोका लागि सारियो । मतपत्र छपाइमा समय लाग्ने भन्दै निर्वाचन समितिले मतदानको समय सारेको हो । समितिका अनुसार बुधबार बिहान ७ बजेबाट विराटनगरको होटल मनास्लु इनमा मतदान सुरु हुने छ ।
पार्टीको जिल्ला अधिवेशन त्यही होटलमा फागुन १७ गतेदेखि चलिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले मतदानको समय बुधबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि छुट्याइएको बताए । उनका अनुसार ५ जना पदाधिकारीसहित १ सय ६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
सुरुमा ३ सय २५ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावी मैदानमा १ सय ९१ जना छन् । श्रेष्ठका अनुसार उम्मेदवारी फिर्तादेखि अन्य प्राविधिक विषय मिलाउनलाई समय लागेका कारण निर्वाचनको मिति सरेको हो ।
निर्वाचनका लागि मतपत्रको छपाइ लगभग सकिएको उनले बताए । १ पटकमा २० जनाले मतदान गर्नसक्ने व्यवस्था मिलाइएको श्रेष्ठको भनाइ छ । उम्मेदवार धेरै भएका कारण १ जना मतदातालाई भोट हाल्न १५ मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ । मतदानपछि पार्टी कार्यालय पाञ्चालीमा मतगणना हुनेछ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् ।
एमाले मोरङको जिल्ला अधिवेशन फागुन १७ गतेबाट सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै सोमबारसम्ममा अविधेशन सम्पन्न गर्ने तयारी थियो । तर, २ दिन ढिला भइसक्दा पनि नेतृत्व चयनका लागि मतदान हुन नसकेको हो ।
























