बराह सहकारी ठगी : अध्यक्षकी पूर्वपत्नीसहित ८ जना कारागार चलान

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २२, बिहीबार १३:४७

विराटनगर । जिल्ला अदालत सुनसरीले बराह ग्रुपअन्तर्गतको बराह बचत तथा ऋण सहकारी ठगी प्रकरणमा आदेश गरेको छ ।

अदालतले पक्राउ परेकामध्ये अध्यक्ष शिव लामिछानेकी पूर्वपत्नीसहित ८ जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलासले थुनछेक बहसपछि बुधबार उक्त आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा ११ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमध्ये ८ जना कारागार चलान भएका हुन् । ३ जना धरौटीबापतको रकम बुझाए छुटेका छन् । बराह सकारीको पौने ११ अर्ब बचत अपचलन मुद्दामा २ सय ६२ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता भएको थियो ।

प्रतिवादीमध्ये मानबहादुर विश्वकर्माकी पत्नी जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) विक, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फूलकुमारी भन्ने फूलमाया राई, सुदिन विक, महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई र विक्रम गजमेर पक्राउ परेका हुन् । रिना अध्यक्षकी पूर्वपत्नी रहेको प्रहरीको भनाइ छ ।

जतनमाया, सरिता र विष्णुकुमारीलाई जनही ५ लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको जिल्ला अदालत सुनसरीका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए । उनका अनुसार थुनामा राख्ने आदेशपछि ८ जनालाई कारागार चलान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.