
विराटनगर । पसल फोडेर १ महिनाअघि मोरङको उर्लाबारीबाट चोरी गरिएका मोबाइल भारतमा भेटिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धन समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त टोलीले भारतका विभिन्न स्थानमा फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार विभिन्न कम्पनीका २० वटा मोबाइल फेला पारिएको हो ।
प्रहरीका अनुसार चोरीमा भारतीय नागरिक संलग्न रहेको पाइएको छ । चोरी गरिएका मोबाइल भारतमा पुर्याइएको र चोरीमा संलग्न भारततिर भागेको प्रहरीको भनाइ छ ।
उर्लाबारीबाट चोरी भएकासहित नवलपरासीबाट चोरी भएका ११ र दमकबाट चोरी भएको एउटा मोबाइलसमेत फेला पारिएको एसएसपी दाहालले बताए । उर्लाबारी–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलबाट गत माघ २१ गते बिहानका राति ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको थियो ।
मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । खोजी जारी राखिएको प्रहरीले जनाएको छ । पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ ।
भारतीय प्रहरीसँग समन्वय गरेर २० वटा मोबाइल फेला पारिए पनि अरु मोबाइल नभेटिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

























