एसईईको तयारी पूरा, कति छन् परीक्षार्थी ?

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार ०६:३७

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत ७ गतेबाट मुलुकभर एकसाथ परीक्षा सुरु हुने छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा तयारी पूरा भइसकेको र सबै केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिका, सिम्बोल नम्बरसहित अन्य आवश्यक सामग्री पुगिसकेको जानकारी दिए । पौडेलका अनुसार यसवर्ष ५ लाख १४ हजार ७१ जना परीक्षार्थीले एसईई दिँदैछन् । गतवर्ष ४ लाख ६४ हजार ७ सय ८५ जनाले परीक्षा दिएका थिए । यसवर्ष ४९ हजार २ सय ८६ जना बढी विद्यार्थीले एसईई दिने छन् ।

चैत १९ गते सम्पन्न हुने एसईईका लागि मुलुकभर २ हजार ७९ वटा परीक्षा केन्द्र तोकिएको छ । विद्यालय बाहिर बाल सुधारगृह र कारागार गरेर ३ वटा केन्द्र कायम गरिएको छ । काठमाडौं र दैलेखका २ कारागार तथा भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था मिलाइएको पौडेलले बताए ।

परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।

चैत ८ गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । ९ गते शनिबार हो । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितीयको परीक्षा सञ्चालन हुनेछ।

यसवर्ष पनि लेटर ग्रेडिङ प्रणालीमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी छ । उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.