
विराटनगर । मोरङको रंगेलीमा आँखा शिविर चलिरहेको स्थानमा सोमबार अपरान्ह स्थानीयले आक्रमण गरेका छन् । रंगेली नगरपालिका–७ पिपल चोकमा आँखा शिविर सञ्चालन भइरहेका बेला आक्रमण भएको हो ।
प्रहरीका अनुसार विराटनगरको रानी आँखा अस्पतालले शिविरको आयोजना गरेको थियो । शिविरमा बिरामीको आँखा परीक्षण भइरहेका बेला मदिरा सेवन गरेर आएकाहरुले अपरान्ह ५ बजेतिर आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अक्रमणबाट आँखा अस्पतालका कर्मचारीसहित ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार अस्पतालका मार्केटिङ इन्चार्ज विराटनगर महानगरपालिका–१५ का अमर साह, मार्केटिङ अफिसर विराटनगर–३ का ३२ वर्षीय सुमन बस्नेत, सवारी चालक विराटनगर–१५ का २९ वर्षीय श्रवण मण्डल घाइते भएका छन् । आक्रमणमा परेर रंगेली–७ का स्थानीय ४५ वर्षीय अरुणकुमार मण्डलसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले अरुणकै घरको सटरमा आँखा शिविर आयोजना गरेको थियो ।
शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरुको रंगेली अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य र खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनीहरुमाथि रंगेली–७ का ४२ वर्षीय धीरेन मण्डल, २७ वर्षीय रामधना मण्डललगायतले आक्रमण गरेको डीएसपी जोशीले बताए ।
आक्रमणमा संलग्नमध्ये धीरेन र रामधनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ । ‘आँखा शिविर चलिरहेका बेला मादक पदार्थ सेवन (मापसे) गरेर आएकाहरुले सुरुमा आँखा परीक्षण गर्न लगाएछन् । त्यसपछि निहुँ खोजेर झगडा गर्दा थालेको पाइयो । अनि एक्कासि आक्रमण गर्न थालेछन्,’ प्रहरी स्रोतले भन्यो ।
आक्रमण हुन थालेपछि आँखा शिविर आयोजना गरिरहेकाहरुले भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । होहल्ला हुन थालेपछि भालालगायतका घरेलु हतियारसहित स्थानीय आक्रमणमा उत्रिएका थिए । उनीहरुले अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर आक्रमण गरेको प्रहरीको भनाइ छ ।
अस्पतालका मार्केटिङ इन्चार्ज अमर साह र ओप्टोमेट्रिस्ट सन्तोष यादवसहित ५ जनाको टोली आँखा शिविर सञ्चालनका लागि रंगेली पुगेको थियो । टोलीले १ सय २० जनाको आँखा परीक्षण गरिसकेपछि घटना भएको हो । आँखा परीक्षण गर्नेमध्ये २२ जनालाई थप उपचार एवं शल्यक्रियाका लागि रेफरसमेत गरिएको थियो ।
आक्रमणपछि आँखा शिविर बिथोलिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

























