
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोशी प्रदेशको नाम नलेखेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् ।
डाक्टर भट्टराईले फेसबुकमा फोटो राख्दै लेखेका छन्,‘प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रङ्गीचङ्गी भेषभूषामा सजिएका थारू सांस्कृतिककर्मीहरूका साथ ।’
भट्टराईले कोशी प्रदेश नलेखेको फेसबुक पोष्टमा मुख्यमन्त्री कार्कीले कमेन्ट गर्दै भनेका छन्,‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है ।’
२०७९ फागुन १६ गते तत्कालिन १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । नाम राख्दा माओवादी केन्द्रले पक्षमा मतदान गरेको थियो । तर पहिचानको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचान पक्षधरले आन्दोलन सुरु गरेपछि माओवादीले आत्मालोचनासहित पहिचानको पक्षमा उभिने निर्णय गरेको थियो । डाक्टर भट्टराई भने प्रदेशकाे नाम पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा थिए ।

























