
विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार भएको छ । मोरङ प्रहरीका अनुसार दुर्गा चोकमा राति साढे ८ बजे खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप्ता घाइते भएका छन् । उनको घाँटीमा गम्भीर चोट छ । उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालले विराट टिचिङ अस्पताल रेफर गरेको थियो । विराटले पनि नोबेल मेडिकल कलेज पठाएको हो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय सक्षम सापकोटाले धारिलो हतियार प्रहार गरेका हुन् । उनका अनुसार राय र सापकोटा चिनजानका व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागूऔषध प्रयोगकर्ता रहेको खुलेको उनले बताए ।
घटनापछि फरार सापकोटाको खोजी भइरहेको उनले बताए । घर अगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । भान्सा कोठाकै अर्को ढोकाबाट निस्किएर उनी फरार भएका हुन् ।

























