नेपाल प्रहरीमा एआईजी बन्न दौडधुप, को को छन् प्रतिस्पर्धी ?

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ०९:२१

काठमाडौं । नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक)हरु यतिबेला एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) बन्ने दौडधुपमा लागेका छन् । पछिल्लो समय प्रहरीभित्र एआईजी बढुवाको रस्साकस्सी चलिरहेको छ ।

अहिले प्रहरीमा ६ जना एआईजीको दरबन्दी रिक्त छ । प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । अहिले २ जना टेकबहादुर तामाङ र सुदीप गिरी मात्रै कार्यरत छन् ।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई तथा डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत चैत ४ बाट अवकाशमा गए । दीपक थापा आईजीपी नियुक्त भए ।

त्यसपछि नेपाल प्रहरीमा ६ एआईजी खाली भएको छ । नेपाल प्रहरीमा विद्यमान कानुनी व्यवस्था कायम रहेमा आगामी २०८२ भदौ १८ गते आईजीपी थापाले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउने छन् । त्यसपछि नेपाल प्रहरीले ३२ औं आईजीपी पाउने छ ।

प्रहरीको ३२ औं आईजीपी बन्ने दौडमा रहेकाहरु अहिले एआईजी बढुवाका लागि ‘लबिङ’ गरिरहेका छन् । ११ जना डीआईजीहरु एआईजी बढुवाको तीव्र दौडधुपमा छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरि शर्मा पोखरेल, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीसहित डीआईजीहरु केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत चन्द्रकुवेर खापुङ, केन्द्रीय प्रहरी प्रतिष्ठानमा कार्यरत डाक्टर मनोज केसी एआईजीका दाबेदार हुन् ।

त्यस्तै, शिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजी बन्ने दौडमा छन् । प्रशासन विभाग, कार्य विभाग, मानव स्रोत विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश सामन्य विभाग, सीआईबीलगायतको प्रमुख एआईजी हुन्छन् । तर, एआईजी रिक्त रहेकाले अहिले डीआईजीले ‘कमाण्ड’ सम्हाल्नुपर्ने अवस्था छ ।

अहिले एआईजीको प्रतिस्पर्धामा रहेकामध्ये २०५२ कात्तिक २७ मा प्रहरीमा प्रवेश गरेका खापुङ, आचार्य र पोखरेल २०८० वैशाखमा डीआईजी बनेका थिए । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका अधिकारी, कार्की र डा. केसी २०८१ जेठमा डीआईजी भएका हुन् ।

डीआइजीहरू शिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलगायत इन्स्पेक्टरको रूपमा २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । पछि सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका हुन् ।

उनीहरु २०८१ मंसिरमा डीआईजीमा बढुवा भए । बढुवाका क्रममा राष्ट्रिय अनुसन्धानबाट आएको भन्ने गरिन्छ । नेपाल प्रहरीमा भर्ना भएकाहरुले राष्ट्रिय अनुसन्धानबाट आएकालाई प्रहरीको नेतृत्वमा लैजान हुँदैन भनेर ‘लबिङ’ गरिरहेका छन् । ११ जना प्रतिस्पर्धीमध्येबाट ६ जनालाई एआईजी बनाउनुपर्ने हुन्छ ।

अब आईजीमा बढुवा हुनेमध्येबाट १ जना आईजीपीका दाबेदार हुन् । जसका कारण एआईजी बढुवा निक्कै पेचिलो देखिएको छ । खापुङ, शर्मा र आचार्यलाई नै सिनियर बनाएर एआईजी बढुवा गरेमा उनीहरुमध्ये १ जनाले आईजीपी थापाको अवकाशपछि २०८२ कात्तिक २६ गतेसम्म नेपाल प्रहरीको नेतृत्व पाउने छन् । तर, त्यसका लागि नेपाल प्रहरी विधेयकले ऐनको रूप लिन हुँदैन ।

२०८१ जेठ ४ गते डीआईजी बढुवा हुँदा राष्ट्रिय अनुसन्धानबाट आएकालाई पछि पारेर कार्की, केसी र अधिकारीले बाजी मारेका थिए । डीआईजीबाट एआईजी बढुवा गर्दा बढुवा समितिको अध्यक्ष गृह सचिव, प्रधानमन्त्री कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुन्छन् । यो समितिले नै कसलाई माथि ल्याउने वा नल्याउने भन्ने निर्णय लिन्छ ।

सीआईबीमा जानुअघि खापुङ कोशी प्रदेश प्रहरी प्रमुख थिए । नेपाल प्रहरीका काविल अफिसर उनी  प्रतिस्पर्धाको पहिलो नम्बरमा छन् । सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भनेर सशस्त्र प्रहरी बलले गत माघमा आचार्यलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेको थियो ।

एआईजीको प्रतिस्पर्धामा रहेका पोखरेल पनि २०५२ कात्तिकमा प्रहरी सेवा प्रवेश गरेका हुन् । पोखरेल विवादित छविका प्रहरी अधिकारी हुन् । बागमती प्रदेश कार्यालय प्रमुख रहेका पोखरेलमाथि ‘आर्थिक अपचलन’ मा संलग्न भएको आरोप छ भने उनीविरुद्ध प्रहरी प्रधान कार्यालयमा दर्जनौं उजुरी परेका छन् ।

डीआईजी अधिकारी, कार्की र डा. केसी पनि काविल अफिसर हुन् । अधिकारीले बौद्धिक प्रहरी अधिकारीको छवि बनाएका छन् । ‘फाइल वर्क’मा पोख्त मानिने उनले प्रहरीभित्र विभिन्न नयाँ र प्रभावकारी योजना ल्याएका छन् ।

कार्कीले पनि काठमाडौं प्रहरी प्रमुख हुँदा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा महत्वपूर्ण योगदान दिएका थिए । डा. केसी भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका प्रहरी अधिकारी हुन् ।

राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको भनेर तत्कालीन गृहमन्त्री रवि लामिछानेले ज्येष्ठ भए पनि शिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमा प्रसाद चतुर्वेदीहरूलाई बढुवा दिएका थिएनन् । करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई बढुवा दिँदा उनीहरु छुटे ।

२०८१ मंसिरमा बढुवा हुँदा शिद्धिविक्रम आफ्नो ब्याचमा १ नम्बरमा डीआईजी भएका थिए । उनी अहिले एआईजीको दौडमा छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले एआईजी, डीआईजी, एसएसपी हुँदै माथिबाट पदपूर्ति गर्दै जाने बताए । ऐन र नियमावलीले उपयुक्त देखेकाहरु बढुवामा पर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.