
ताप्लेजुङ । पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सरकारलाई आग्रह गरेका छन् ।
प्रेस सेन्टरले फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय र सरोकारवाला पक्षको भावना समेट्ने गरी समस्या समाधान गर्न आग्रह गरेका हुन् । ‘पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय समुदाय तथा सरोकार भएका सबैको संयुक्त जिम्मेवारी हो ।’ उनले भने ।
पाथीभरा केवलकार निर्माणलाई लिएर स्थानीय र पहिचान पक्ष धरले विरोध गरिरहेका छन् ।
पूर्वमन्त्री शर्माले विवाद समाधानका लागि संवाद, सहकार्य र समन्वय आवश्यक रहेको भन्दै सरकारलाई स्थानीय समुदायको भावनाअनुसार अघि बढ्न सुझाव दिए ।

























