
स्याङ्जा । प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना भ्रष्टाचारी ठहर भएका छन् । भ्रष्टाचार मुद्दा चलाइएका तत्कालीन प्रमुख प्रशासकीयसहितलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा बाटो ढलान गर्दा २३ लाख २५ हजार ७ सय ९५ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको थियो । दोषी ठहर भएका सबैलाई ३ महिना कैद सजाय हुने फैसला सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १६ गते प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
दोषी ठहर हुनेमा अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जना छन् । उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

























