
काठमाडौं । आन्दोलनरत शिक्षकले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् ।
नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न जनाएको छ ।
७ चैतदेखि सुरु भएको एसईई १९ गते सकिँदै छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाडौं आउने बताए ।
महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
काठमाडौंमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ ।
महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ ।

























