
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले बिहीबार जिल्ला प्रहरी कार्यालय इलाम र पाँचथरको स्थलगत निरीक्षण गरेका छन् ।
उनले दुवै प्रहरी कार्यालयको भवन, मेस, सम्पूर्ण शाखाहरु र हिरासत कक्षको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा अधिकारीले प्रहरी सेवालाई चुस्त दुरुस्त बनाउँदै नागरिक मैत्री सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
उनले प्रहरीले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र सेवा पनि त्यही हिसाबले प्रवाह गर्नुपर्नेमा जोड दिए । अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन उनको निर्देशन छ ।
अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर जनचतेनामूलक कार्यक्रम प्रभावकारी ढंगबाट अघि बढाउन पनि प्रहरीलाई डीआईजी अधिकारीले निर्देशन दिएका छन् । उनले प्रहरीले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याएर आफ्नो जिम्मेवारी निर्वाह गर्दै संगठनको हित र उद्देश्य पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।
निरीक्षणका क्रममा डीआईजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने इलाम प्रहरी प्रमुख एसपी नारायण कोइरालासहित विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । त्यस क्रममा एसपी कोइरालाले इलामको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्ययोजना र सुरक्षा चुनौतीका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै, डीआईजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीसहित विभिन्न युनिटमा रहेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका प्रहरीलाई पुरस्कृत गरेका छन् । डीएसपी बुढाथोकीले पाँचथर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, प्रहरीको भावी कार्ययोजना तथा सुरक्षा चुनौतीका बारेमा डीआईजी अधिकारीलाई अवगत गराएका छन् ।


























