
रुपन्देही । नेपाल प्रहरीका १ जना सइ (प्रहरी नायव निरीक्षक)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित पक्राउ गरेको छ ।
अख्तियार बुटवलको टोलीले अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भनेर लिएको घुस रकमसहित सइ खिमबहादुर खड्कालाई पक्राउ गरेको हो । रुपन्देहीको प्रहरी चौकी, हाटीबनगाई दुर्गौलियामा कार्यरत खड्काले घुसबापत लिएको ३० हजार रूपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ ।
दुर्गौलिया रुपन्देहीको नाका हो । भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सइ खड्काले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।
उजुरीका आधारमा खटिएको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

























