
काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेका आन्दोलनका क्रममा २ जनाले ज्यान गुमाएका छन् ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जन र एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । महर्जनको प्रहरीसँग भएको झडपमा ज्यान गएको हो भने रजकको जलेर ज्यान गएको बताइएको छ ।
राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको तीनकुनेको भवनमा रजक जिउँदै जलेको बताइए पनि प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।
उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ । अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ ।
यता महर्जनको भने झडपका क्रममा छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो ।
तर उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरे । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ ।

























