
विराटनगर । संखुवासभाको चैनपुरमा २ वटा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान चैनपुर नगरपालिका– ६ मा नगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्दा २ वटा शंकास्पद वस्तु फेला परेको हो ।
द्वन्द्वकालमा सप्रबल सुरक्षा बेस चैनपुर रहेको स्थानमा चैनपुर नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएकाे छ ।
संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतका अनुसार गडीडाँडा जाने बाटोको बाँयापट्टी तारसहित जमिनमा गाडिएको अवस्थामा २ स्थानमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको उनले बताए ।
‘सरसफाईका क्रममा तार गाडिएको अवस्थामा भेटिएको छ, तत्कालिन समयमा सुरक्षा बेस क्याम्प रहेकाले बम हो कि भन्ने आशंका छ,’ उनले भने,‘ नेपाली सेनाको टोलीले हेरेपछि थप विषय खुल्छ ।’
घटनास्थल इलाका प्रहरी कार्यालय चैनपुरबाट करिब ३०० मिटर पश्चिम पर्छ ।

























