
विराटनगर । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि चैत २३ गते देशभर मतदान हुँदैछ ।
बारको निर्वाचनमा सत्तारुढ कांग्रेस–एमाले निकट कानुन व्यवसायीहरुको संगठनले विजय मिश्रको नेतृत्वमा प्यानल बनाएका छन् ।
प्रतिपक्ष दल माओवादी केन्द्र निकट कानुन व्यवसायीले रमनकुमार श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक कानुन व्यवसायी समूह’ चुनावी मैदानमा छ ।
श्रेष्ठ पक्षले आफ्नो समूहमा व्यवसायिक कानुन व्यवसायी मात्रै रहेको दाबी गरेको छ । यो प्यानलबाट विराटनगरकी अधिवक्ता कला त्रिताल उपत्यका बाहिर महिला केन्द्रीय सदस्यको उम्मेदवार छिन् । उपत्यका बाहिर महिला सदस्यमा मिश्रको प्यानलबाट बुटवलकी इन्दिरा आचार्य उम्मेदवार बनेकी छन् ।
त्रिताल २०५८ सालदेखि निरन्तर वकालत पेशामा छिन । २०५३ सालमा अभिवक्ताको लाइसेन्स पाएकी उनले २०६४ सालमा अधिवक्ता पास गरेकी थिइन् । त्यसयता उनी निरन्तर मोरङसहित कोशी प्रदेशका जिल्लामा केन्द्रित भएर वकालत गरिरहेकी छन् ।
उच्चा अदालत विराटनगर बार एशोसिएशनको वर्तमान उपाध्यक्ष त्रिताल त्यसअघि सहसचिवको जिम्मेवारीमा थिइन् ।
‘न्याय क्षेत्रमा रहेको विकृति विसङ्गतिविरुद्ध काम गर्नका लागि हाम्रो उम्मेदवारी हो,’ उनी भन्छिन्‘ नेपाल बार र कानुनी क्षेत्रमा रहेका विकृति अन्त्य गर्छौ ।’
मानव अधिकारकर्मीसमेत रहेकी त्रितालले केही समय पिपुल्स फोरम नाममा गैर सरकारी संस्थामा काम गरेकी थिइन् । उनी वैदेशिक रोजगारीमा ठगीमा परेर आएकाहरुको न्यायका लागि निशुल्क रुपमा सहयोग गर्छिन् ।
रेडियो पूर्वाञ्चल विराटनगरमा करिब दुई वर्ष काम गरेकी त्रितालसँग चाइना रेडियो इन्टरनेशनल(सिआरई)मा ४ वर्ष काम गरेको अनुभव छ ।
बारको मधेशी मुस्लिम कोटाबाट विराटनगरकी सन्जु साहको पनि उम्मेदवारी छ ।
बारको केन्द्रीय उपाध्यक्षमा सुनसरीबाट पदम लिम्बु र कर्णबहादुर राई (दर्शन कर्ण)ले उम्मेदवारी दिएका छन् । लिम्बू गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार थिए ।
माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा २०५१० मतसहित निर्वाचित हुँदा एमाले उम्मेदवार बनेका अधिवक्ता लिम्बूले १७६०६ मत पाएका थिए । उपाध्यक्षको उम्मेदवार राई भने वकालत पेसामा सक्रिय छन् ।

























