
विराटनगर । कोशीसहितका केही प्रदेशमा आज (सोमबार) हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ । यद्यपि, बिहान देशभरको मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा दिउँसो आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना छ । सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने महाशाखाले उल्लेख गरेको छ ।
केही स्थानमा हुने हल्का वर्षा एवं हिमपात र सुख्खापन, वायु प्रदूषण तथा आगलागीका कारण मानवीय स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने जनाइएको छ । त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले जनाएको छ ।

























