
काठमाडौं। नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल गरिदिनु आग्रह गरेका हुन् ।
सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।’
शिक्षा ऐन जारी गर्न माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।
आन्दोलनअन्तर्गत आज (सोमबार) मुखमा कालो मास्क लगाएर शिक्षकहरुले प्रदर्शन गरिहेका छन् । यसअघि हिजो उनीहरुले सिट्ठी जुलुस प्रदर्शन गरेका थिए ।


























