
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ७ लाख १५ हजार रूपैयाँसहित १ जना युवक सोमबार दिउँसो पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–९ महेन्द्र चोकबाट २४ वर्षीय रोहितकुमार साहलाई दिउँसो २ः३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा साहको शरीरबाट नेपाली रूपैयाँ बरामद भएको थियो ।
शरीरबाट बरामद भएको नेपाली रूपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जोशीले बताए । विराटनगर–१५ घर भएका साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ । राजस्वले थप अनुसन्धान गरिसकेपछि यो विषयमा प्रष्ट हुने प्रहरीको भनाइ छ ।

























