छाडा कुकुरको आतंकः सुरक्षा र नियन्त्रणमा ध्यान पुगोस्

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र २५, सोमबार १७:४४

गत बिहीबार मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर एक जनाको मृत्यु भएको दुःखद घटनाले फेरि नेपालमा बेवारिस कुकुरको उपद्रव र यसले जनाउने सार्वजनिक स्वास्थ्य जोखिमलाई उजागर गरेको छ । यस्तै, झापाको कचनकवलमा १२ जना घाइते भएको घटनाले यो समस्याको विकराल रूप देखाएको छ । विशेष गरी, साना बच्चा र वृद्धहरू यसको सजिलै सिकार बन्दै गएका छन् । यी घटनाहरू मात्र नभएर, पछिल्लो समय देशभर छाडा कुकुरले गरिरहेको आक्रमण र रेबिजको खतरा बढ्दै गएको दृश्य हो । यसले हाम्रो सामाजिक सुरक्षा ढाँचामा ठुलो प्वाल पारेको छ ।

नेपालमा छाडा कुकुरको संख्या बढ्नुको प्रमुख कारण हो – नगरपालिका तथा स्थानीय सरकारहरूको उदासीनता । यसको अतिरिक्त, नागरिकको जागरूकताको पनि अभाव छ । कुकुर पाल्नेहरूको गैर जिम्मेवार व्यवहार, र सरकारी तहमा यस विषयमा प्राथमिकताको कमीले समस्या अझ बढाएको छ । 

मुलुकमा बर्सेनि २ सयभन्दा बढीको कुकुरको टोकाइबाट मृत्यु हुने गरेको अनुमान गरिन्छ । करिब ४० हजार नेपाली बर्सेनि कुकुरलगायतका जनावरले टोक्दा रेबिजको जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक तथ्यांक अनुसार बर्सेनि ५५ हजार व्यक्तिको रेबिजबाट मृत्यु हुन्छ, यसमध्ये अधिकांश व्यक्तिलाई कुकुरको टोकाइले रेबिज हुने गर्छ । पशुका माध्यमले सर्ने ‘भाइरल जुनोटिक’ संक्रमण रेबिजलाई हाइड्रोफोबियासमेत भनिन्छ । यसको सिकार मानिस र पशु दुवै भइरहेका छन् । 

नेपालमा अनुमानित ३ लाखभन्दा बढी छाडा कुकुरहरू रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्र करिब ३० हजारदेखि ३५ हजार कुकुरहरू सडकमा भौंतारिने गर्छन् । धेरै व्यक्तिहरूले कुकुर पाल्ने र पछि उसलाई सडकमा छाड्ने प्रवृत्ति, छाडा कुकुरहरूको प्रजननमा नियन्त्रणको अभाव, सार्वजनिक स्थानहरूमा फोहोरको उचित व्यवस्थापन नहुनु र कुकुर पालन र व्यवस्थापनबारे उचित शिक्षाको अभावले कुकुरहरू सडकमा पुग्छन् । अनि तिनै कुकुरले मानिसलाई र जनावरलाई टोकेर क्षति पुर्याईरहेका छन् । यो क्रम अब रोकिनुपर्छ ।

यसको नियन्त्रणका लागि नगरपालिका र गाउँपालिकाहरूले छाडा कुकुर नियन्त्रणका लागि विशेष अभियान चलाउनुपर्छ । सामुदायिक स्तरमा कुकुरले टोक्दा के गर्ने, रेबिजको अवस्था के हो ? र कुकुरसँग सुरक्षित व्यवहार गर्ने विषयमा चेतनामूलक कार्यक्रम चलाउनुपर्छ । कुकुर पाल्नेहरूले आफ्ना कुकुरलाई नियन्त्रणमा राख्न अनिवार्य बनाउनुपर्छ । छाडा कुकुर पाल्ने वा उपेक्षा गर्नेमा कडा कानुनी व्यवस्था लागू गर्नुपर्छ । यो विषयमा केही दिन अघि काठमाडौं महानगरपालिकाले गरेको निर्णय सकारात्मक छ । 

काठमाडौं महानगरपालिकाले कुकुर बिरालालाई दर्ता गरेर मात्र पाल्न आग्रह गरेको छ । आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्न सूचना नै जारी गरेपछि सडकमा देखिने कुकुरमा कमी आउने महानगरले अपेक्षा गरेको छ । यस्तो कार्य अन्य स्थानीय तहले पनि गर्न आवश्यक छ । 
  
छाडा कुकुरको समस्या भनेको सामुदायिक सुरक्षा र सार्वजनिक स्वास्थ्यको ठुलो चुनौती हो । यो विषयलाई सामान्य रूपमा लिनुहुँदैन । यसलाई नियन्त्रण गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था, र नागरिकहरूको सहकार्य आवश्यक छ । यदि हामीले अहिले नै कडा कदम चालेनौं भने, यो समस्या भविष्यमा अझ विकराल हुनेछ । सरकारले यस विषयमा ठोस नीति बनाउनु पर्छ र जनताले पनि आफ्नो सुरक्षाको लागि सचेत रहनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.