
विराटनगर । मोरङको रंगेली र जहदामा सोमबार २ वटा घटना भएको छ । घटनामा परेर २ जना घाइते भएका छन् ।
रंगेली नगरपालिका–५ बाँसबारी मधुवनीमा को २ त ८३५१ नम्बरको ट्याक्टरको थेसरले हातमा चोट लाग्दा १७ वर्षीय किशोर घाइते भएका छन् । थेसर मेसिनमा गहुँ हाल्ने क्रममा रंगेली–५ का १७ वर्षीय पोलिस मरन्डीको दाहिने हातमा चोट लागेको हो ।
थेसर मेसिनले हातमा काट्दा घाइते भएका बालकलाई रंगेली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था माध्यम रहेको र घाइतेको उपचार ट्याक्टर चालक रंगेली–५ का ४२ वर्षीय राजकुमार महतोले गराइरहेको प्रहरीको भनाइ छ ।
त्यस्तै, ग्रेण्डर मेसिनले खुट्टामा काटेपछि जहदा गाउँपालिका–४ रामचोकका ३० वर्षीय सञ्जित राजवंशी घाइते भएका छन् । बाँस काट्ने क्रममा चिप्लिएको ग्रेण्डरले उनको बायाँ खुट्टाको गोलीगाँठामा काटेको छ ।
घाइते राजवंशीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवस्था सामान्य छ । प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरेको छ ।

























