आशंकाबीच रुमल्लिएको इटहरी सेन्ट्रल प्लाजाको ‘आगलागी’

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र २५, सोमबार २०:२३

इटहरी । सुनसरी इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीको घटना अझै चर्चामा छ । चैत १३ गते भएको आगलागीको चर्चा धेरै भए पनि अझैसम्म क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यस्तै खालका अरु घटनामा केही समयभित्रै क्षतिको विवरण आइसक्थ्यो । प्रहरीले तत्काल उद्धारको काममा ध्यान दिने भएकाले त्यसपछिको काम क्षति कति भयो भन्ने यकिन गर्ने हुन्थ्यो । तर, इटहरीको उक्त घटनामा यस्तो देखिएको छैन ।

Advertisement

घटना भएको २ सातामा पनि क्षतिबारे विवरण आएको छैन । ‘क्षतिको मूल्यांकन भइरहेको जवाफ मात्रै आउँछ । पूर्ण विवरण आइसकेको छैन,’ प्रहरीको भनाइ छ। सुनसरी प्रहरी प्रमुख (एसपी) सुमनकुमार तिमलसिनाले हालसम्म क्षतिको विवरण प्राप्त हुन नसकेको बताए ।

सेन्टर प्लाजा व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको व्यापारिक भवन हो । जसका प्रबन्धक उनकै छोरा सिद्धार्थ श्रेष्ठ छन् । आगलागी भएको भवनमा सिनेमाहल, होटल, विभिन्न पसल र हल छन् ।

आगलागी पाचौं तलामा रहेको सिनेमा हलबाट विद्युत सर्ट भइ सुरु भएको प्रबन्धक सिद्धार्थ श्रेष्ठ बताउँछन् । उनी अहिले पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताउँछन् । ‘यो प्राविधिक कुरा भएकाले क्षतिको विवरण संकलन गर्न समय लागेको हो’ उनी भन्छन्, ‘इन्जिनियर खटाएर मूल्यांकनको काम भइरहेकाले अझै केही दिन समय लाग्छ ।’

इटहरीको आगलागीमा परेको व्यापारिक भवन र सामान्य नागरिकको घरमा लागेको आगलागीमा मूल्यांकनको प्रक्रिया नै फरक देखिन्छ । स्थानीयकोमा आगलागी भए सामान्य क्षतिपूर्तिबाहेक अरू कल्पना बाहिर छ । तर, व्यापारिक भवनको क्षति भए त्यस बराबरको रकम इन्स्योरेन्स (बिमा) दाबी गर्न सकिन्छ र त्यसअनुसार रकम प्राप्त हुने भएकाले अवस्था फरक देखिएको हो ।

उक्त व्यापारिक भवनको सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बिमा गरिएको छ । बिमा दाबी गर्नका लागि विस्तृत मूल्यांकन गरी विवरण निकाल्ने काम भइरहेको श्रेष्ठको भनाइ छ । प्रायः व्यवसायीले आफ्नो व्यवसायको सुरक्षाका लागि इन्स्योरेन्स गर्ने गर्छन् ।

तर, यसको दुरुपयोग पनि उत्तिकै बढ्दो छ । यो घटनामा पनि क्षतिको विवरण हालसम्म नआउँदा कतै बिमाकै लागि त आगलागी गराइएन भन्ने आशंका उब्जिएको छ । किनकि गत पुसमा मात्रै पोखरामा बिमा रकम हत्याउन आफ्नै पसलमा आगो लगाएको भन्दै एक व्यक्ति पक्राउ परेका थिए ।

 

उक्त प्लाजाको इन्स्योरेन्स गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कोशी प्रमुख ठाकुर उप्रेती भने यो घटनामा क्षतिको मूल्यांकनका लागि कम्पनीबाट पनि सर्वेयर खटाएर विवरण लिने काम भइरहेको बताउँछन् । यसले गर्दा यहाँ गलत देखिए वा बढाएर मूल्यांकन गर्ने अवस्था नरहेको उनको दाबी छ ।

‘आगलागी भएपछि हामीले इन्स्योरेन्स गरेको भवनमा भएको क्षतिको मूल्यांकनमा हाम्रा सर्वेयर खटाएका छौं । उहाँहरूले पनि इन्जिनियर खटाएर मूल्यांकन गरिरहनुभएको छ’ उनले भने, ‘घटना भएको ३५ दिनभित्र इन्स्योरेन्स कम्पनीमा दाबीका लागि आउनुपर्छ । त्यो समय सकिएको छैन । काम हुँदैछ ।’

किन उब्जियो शंका ?

व्यापारिक भवनको आगलागी सार्वजनिक विषयको चासो बन्यो । जसमा आगलागीको समय देखिनै इन्स्योरेन्स प्राप्तिका लागि आगो लगाइएको विषय पनि चर्चामा छ । आगलागी नियन्त्रणका क्रममा ठूलो भीड आगलागी हेर्न आएकामा केहीले भनेका थिए, ‘आगो नियोजित रूपमा लगाइएको जस्तो छ ।’ अहिले यतिका समयसम्म पनि क्षतिको विवरण नआउँदा यो आशंकालाई मलजल पुगेको छ ।

इटहरीको सबैभन्दा सुगम ठाउँ मुख्य चौक हो । १ दर्जन हाराहारी दमकल, सय मिटर पूर्वमै टनाटन पानी भएको मेचीकाली पोखरी । तर, त्यहीको आगो नियन्त्रणमा आउन करिब ६ घण्टाको समय लागेको थियो । यो घटनाले यसभन्दा केही टाढा मात्रै आगलागी भयो भने कति समय लाग्ला भन्ने अनुमान त लाग्ने नै भयो नै ।

अर्कोतर्फ, ६ घण्टासम्म नियन्त्रणका लागि लाग्नुले नियोजित रूपमा आगो लगाइएको त होइन भन्ने प्रश्न पनि उब्जाएको स्थानीय बताउँछन् । जबकि नियन्त्रणका लागि बाहिरबाट दिएको पानी आगो लागेको स्थानसम्म पुग्नै मुस्किल परिरहेको थियो । नियन्त्रणको प्रक्रियाका सन्दर्भमा पनि प्रश्न उठिरहेको थियो ।

आगलागी बिहानको समयमा भएको हो । सेन्ट्रल प्लाजाको कार्यालय समय बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म उल्लेख छ । कार्यालय समयमै आगो लाग्नु र आगोले उग्र रूप लिनुले पनि नियन्त्रणका लागि तत्काल किन प्रयास गरिएन ? भन्ने प्रश्न जन्माएको छ ।

आगलागी नियन्त्रण र आगो नलाग्न भनेर नै ‘फायर हिट’ जस्ता सामग्री यस्ता व्यापारिक महलहरूमा अनिवार्य रूपमा राखिन्छ । जसलाई सही समयमा प्रयोग गरियो भने ९० प्रतिशतभन्दा बढी आगलागी नियन्त्रण गर्न सकिने अध्ययनहरूले देखाएको छ ।

यो आगलागी प्लाजाको कार्यालय समयमा नै भएकाले पनि आगलागीपछि नियन्त्रणमा ल्याउने उपकरणका प्रयोग, भित्र जडान हुने पाइपका सन्दर्भमा समेत अनुसन्धान गर्न आवश्यक रहेको स्थानीय बताउँछन् ।

आगलागी भएको भवनको पाचौं तलामा क्यूएफएक्स सिनेमा हल छ । त्यही हलबाट आगलागी सुरु भएको बताइन्छ । तर, राम्रो बजार पाइरहेका नेपाली चलचित्र अन्जिला, लाज शरणम, होस्टेल ३ जस्ता सिनेमाहरू प्रदर्शन भइरहेको समयमा सिनेमा हल नै सञ्चालनमा थिएन ।

प्रायः ८ः४५ बजेबाट सुरु हुने सिनेमामा त्यस दिन ३, ४ जनाले मात्रै टिकट काटेकाले ‘शो’ रद्द गरिएको प्लाजाका प्रबन्धक श्रेष्ठको दाबी छ । उनको यो भनाइलाई पनि शंकाको घेरामा स्थानीयले राखेका छन् । किनकि प्रदर्शन भइरहेका चलचित्र हेर्नका लागि दर्शकको चाप घटेको छैन ।

आगलागी सुरु भएको समय बिहान ९ः३० बजे भनिएको छ । तर, हलमा प्राय बिहान ८ः४५ बजेटबाटै चलचित्रको प्रदर्शन सुरु हुन्थ्यो । आगलागी भएको दिन न्यून दर्शक भएको भनेर ‘शो’ रद्ध गरिनुलाई पनि शंकास्पद मानिएको छ ।

घटना नै नियोजित रहेको स्थानीयको दाबी छ । यद्यपि, आगलागीपछि सेन्ट्रल प्लाजाको भवनमाथि रहेका ११ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । आगलागी नियन्त्रणमा आएलगत्तै प्लाजाका अध्यक्ष राजेश श्रेष्ठको हस्ताक्षर र प्रबन्धक सिद्धार्थ श्रेष्ठको नामसहित प्रेस विज्ञप्ति जारी भयो । तर, विज्ञप्तिमा मितिसम्म उल्लेख छैन ।

आगलागी नियन्त्रणका लागि खटिएकाहरू लगायतलाई धन्यवाद दिइएको विज्ञप्ति तयार भएका सन्दर्भले पनि नेपथ्यको आवाजलाई बाहिर ल्याउनका लागि मद्दत गरेको देखिन्छ । ‘आगलागी भएर सम्पत्ति क्षति हुँदा मान्छेलाई पीडा हुन्छ । पीडाका कारण मान्छे बोल्नसमेत सक्ने अवस्थामा हुँदैन । तर, राम्ररी आगो नियन्त्रणमा आइनसक्दै विज्ञप्ति निकालेर धन्यवाद दिने हतारो देखियो । यसले पनि घटनालाई शंकास्पद बनाएको छ,’ स्थानीय भन्छन् ।

यसबाहेक आगलागीमा फसेकालाई उद्धार गरेपछि हेलिकप्टर आउनु, इटहरीको मुख्य स्थानमै ५ घण्टापछि मात्र क्रेन उपलब्ध हुनु लगायतका कुराहरूले पनि नियोजित आगलागी हो भन्ने झिनो स्वरलाई प्रमाणित गर्ने आधारहरू रहेको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतले भन्यो, ‘बिमाकै लागि आगो लगाइएको हो भन्ने कुरा आएको छ । यद्यपि, त्यसको पुष्टि भइसकेको छैन । तर, अहिलेसम्म क्षतिको विवरण प्राप्त नहुनुले चैं घटनालाई रहस्यमय बनाउँदै लगेको छ । त्यही भएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.