
काठमाडौं । मुलुकका विभिन्न ४ प्रदेशमा आज (मंगलबार) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।
देशका पहाडी भू–भागमा बिहान आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा दिउँसो हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
देशका धेरै स्थानहरूमा लामो समयदेखि वर्षा नभएको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने जनाइएको छ ।

























