
रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १ बालिकासहित २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । लु १ च २७६३ नम्बरको पिकअप भ्यान शिवगढिया मोडमा दुर्घटनाग्रस्त हुँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको हो ।
रूपन्देही प्रहरीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार तीव्र गतिमा गुडिरहेको पिकअप शिवगढिया मोडमामा पुगेपछि आफैं अनियन्त्रित भएर सडकबाट पल्टिएको थियो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भ्यानमा २४ जना सवार थिए । लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर फर्कने क्रममा भ्यान दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै प्रहरीले भ्यान चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार रहेको पाइएको छ ।
भारवहन क्षमताभन्दा बढी सवार रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डीएसपी कार्कीले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।

























