
विराटनगर । पर्यटन वर्ष २०८२ घोषणा गरेको कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि स्टिकर टास्ने योजना अघि सारेको छ । पर्यटकका सवारीमा सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी स्टिकर टास्ने योजना ल्याइएको हो ।
नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टास गरेपछि पर्यटक बस र भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिने छैन । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को अवसरमा यो अभियान घोषणा गरेको हो । यसरी बाँडिने स्टिकरमा ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार भारतीय पर्यटकको सहजताका लागि विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर सुरक्षा जाँचपछि स्टिकर वितरण गरिने छ । नाकामा सुरक्षा जाँचपछि टाँसिने स्टिकर सुन्तले रङको हुनेछ । स्टिकरमा कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कोशी प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर राखिएको छ ।
स्टिकरमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, सवारी चालकको नाम, गाडीमा सवार यात्रु संख्या, प्रवेश नाका, बाहिरिने नाका र नेपालमा बस्ने समयावधि उल्लेख गरिएको छ । नाकामा १ पटक विवरण उल्लेख गरेको सवारीलाई प्रदेशका अन्य क्षेत्रमा चेकजाँच हुँदैन ।
यसअघि भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका थिए । पर्यटन वर्ष मनाउने घोषणा गरेको सरकारले पर्यटक भित्र्याउनका लागि स्टिकर योजना लागू गरेको हो ।
पर्यटकको सुरक्षा जाँच र स्टिकर वितरणका लागि राखिने युनिटले पर्यटकलाई सहयोग गर्ने बताइएको छ । कोशी प्रदेश सरकारले मनाउने पर्यटन वर्ष, २०८२ को बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारा तय गरिएको पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना छ ।
कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र वराहक्षेत्र, हलेसी, पाथीभरा र रामधुनीको विषेश प्रवर्धन गर्ने तयारी छ । कोशी प्रदेशमा प्रमुख पर्यटकीय गन्तव्य १४ वटा छन् । नयाँ विकास गर्नुपर्ने पर्यटकीय क्षेत्र १६ वटा छन् ।
पर्यटन वर्षका आउने पर्यटकलाई सेवा दिन प्रदेशमा तारे स्तरका होटल १२ वटा र पर्यटकीयस्तरका होटल ३६ वटा छन् । अन्य साना होटल तथा होमस्टेहरु छन् । कोशी प्रदेशमा जम्मा १ सय ५ वटा होमस्टे रहेको मन्त्रालयको तथ्यांक छ ।

























