
विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला ट्राफिक कार्यालय मोरङ र यातायात कार्यालय विराटनगरले संयुक्त रुपमा सवारीसाधनको अनुगमन थालेका छन् ।
पछिल्लो समय दुर्घटना बढ्दै गएसँगै सवारीसाधनसँग प्रत्यक्ष जोडिने २ संस्था यातायात कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा बुधबारदेखि अनुगमन थालिएको हो । अनुगमनको सुरुवात विराटनगर–रंगेली सडक खण्डअन्तर्गत कटहरीबाट गरिएको थियो ।
विराटनगर–रंगेली र विराटनगर–धरान सडक खण्डमा चल्ने सवारीसाधनको अनुगमन गरिएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । अनुगमनका क्रममा अधिकांश सवारीसाधनमा कैफियत भेटिएको उनले बताए ।
ट्राफिक प्रमुख लम्सालले भने, ‘यातायात कार्यालयसँगको अनुगमनमा विशेष गरेर सवारीसाधनको ‘मेकानिकल’ पक्षलाई हेरका थियौं । विभिन्न समस्या रहेको भेट्यौं ।’ सार्वजनिक बस, ट्रक, ट्याक्टर, मोटरसाइकल मात्रै नभएर स्कुल बसमा पनि समस्या देखिएको उनको भनाइ छ ।
स्कुल बसमा भेटिएका कैफियतमा चालकले चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लु बुक) साथमा नबोक्ने, बालबालिकालाई असर पुग्ने प्रेसर हर्न राख्ने, पछाडिको बत्ती र संकेत बत्ती नबल्नेजस्ता समस्याहरु भेटिएको ट्राफिक प्रमुख लम्सालले बताए । उनका अनुसार सार्वजनिक सवारीसाधनमा पनि समस्या रहेको थियो ।
चालकले लाइसेन्स र ब्लु बुक साथमा नबोक्ने, नवीकरण नगर्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारीसाधनको बत्ती नबल्ने, प्रेसर हर्न राख्ने, सामान बोक्दा नछोप्नेजस्ता समस्याको पहिचान भएको छ । चेक जाँच गर्दा कैफियत भेटिएका ११ वटा सवारीसाधनलाई कारबाही गरिएको र केहीलाई सचेत गराएर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

























