सरकारले सुरु गर्यो भ्रष्टाचारजन्य सम्पत्तिको जफत

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार ०६:२०

काठमाडौं । भ्रष्टाचारका माध्यमबाट कमाएको वा जोडेको सम्पत्ति सरकारले जफत गर्न सुरु गरेको छ ।

सार्वजनिक पदधारण गरी अनुचित व्यक्तिगत लाभका लागि पद तथा अधिकारको दुरुपयोग गरी अकुत आर्जन गर्ने व्यक्तिको सम्पत्ति सरकारले जफत गर्न थालेको हो । सरकारले सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुर कटुन्जेमा रहेका विभिन्न १७ वटा कित्ताबाट ६५ आना ३ दाम जग्गा बिहीबार जफत गरेको छ ।

सडक विभागको महानिर्देशक रहँदा खनालले भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले विक्रम संवत २०६९ भदौ १२ गते खनाललाई दोषी ठहर गरी १ वर्ष ३ महिना कैद तथा १ करोड २१ लाख ५२ हजार ४४ रूपैयाँ जरिबाना र स्रोत नखुलेको खनालको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार खनाल र परिवारका नाममा रहेको जग्गा जफत गरिएको हो ।

विभिन्न सडक परियोजना प्रमुखसमेत रहेका खनाल २०५६ कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म सडक विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । उक्त समयमा अकुत सम्पत्ति आर्जन गरेका खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो ।

३ करोड ९७ लाख ४० हजार ७ रूपैयाँ बराबरको सम्पत्ति जफतको माग गरी अख्तियारले विशेष अदालतमा दायर गरेको हो । विशेषले २०६२ जेठ २० गते खनाललाई दोषी ठहर गरी १ वर्ष कैद र १ करोड २० लाख २३ हजार जरिबाना तथा स्रोत नखुलेको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।

सर्वोच्चले कैद र जरिबानाबापतको रकम केही बढाउँदै विशेषकै फैसलालाई सदर गरेको थियो । सरकारले खनालको विभिन्न बैंकको सेयर र विभिन्न बैंक तथा फाइनान्सका खातामा रहेको रकम र पत्नी पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको सेयर एवं रकम पनि जफत गरेको छ ।

सरकारले पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको ललितपुरस्थित भैँसेपाटीमा रहेको जग्गा जफत गर्ने प्रक्रिया अघि बढाएको छ । तत्कालीन गृहमन्त्री खड्कालाई भ्रष्टाचार कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।

उक्त फैसलामा खड्काले भ्रष्टाचार गरेर कमाएको जग्गा जफत गर्ने फैसला भए अनुसार गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्चको फैसला अनुरूप जग्गा जफत गर्ने तयारी गरेको हो । खड्काकी पत्नी शीला शर्मा खड्काको नाममा रहेको ललितपुर–२ को कित्ता नम्बर १०७ को १ रोपनी ६ आना र कित्ता नम्बर १८३ को १ आना १ पैसा जग्गा जफत गर्न लागिएको विभागले जनाएको छ ।

सर्वोच्चको फैसलामा ती २ क्रित्ता जग्गाबाट २० लाख ५६ हजार ९ सय ८७ रूपैयाँ २ पैसा बराबरको जफत गर्नुपर्ने उल्लेख छ । खड्काको परिवारले फैसलाबमोजिम उक्त रकम दाखिला गरेको थियो ।

विभागका अनुसार कित्ता नम्बर २४९ को १ रोपनी ६ आना १ पैसा १ दाम जग्गा जफतको प्रक्रिया अघि बढाइएको छ । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा १७ संशोधन गरी भ्रष्टाचारजन्य तथा आतंकवादी गतिविधिमार्फत आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.