
काठमाडौँ । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशनको चालु विश्व कार्यसमितीको बैठकमा नेपालको शिक्षक आन्दोलनको मुद्दाले प्रवेश पाएको छ ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने विश्व कार्यसमिति सदस्य तथा नेपाल ट्रेठ युनियन कांगे्रसका महासचिव अजयकुमार राईले शिक्षकको मागप्रति सरकार उदासीन देखिएको भन्दै नेपालको शिक्षकले भोग्नुपरेका समस्याको बारेमा बैठकमा कुरा उठाएका हुन् ।
उनले राज्य, राजनैतिक दलका केही नेताहरु श्रमिकहरुप्रति अनुदार रहेको बताउँदै हालै फागुन १ गते सर्वोच्च अदालतको बैँक वित्तीय संस्थाहरुमा अबबाट श्रम ऐन प्रभावित नहुने कुराले सार्वजनिक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने भएको बताएका थिए ।
त्यस्तै, उनले गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्धामा भएको सम्झौता सरकारले लागु नगरेकोले यस वर्ष पनि हजारौको संख्यामा शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको बैठकमा जानकारी गराएका थिए ।
उनले एजुकेशन ईन्टरनेशनल, ट्रेड युनियन कांग्रेस लगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाइसकेको अवस्थामा सरकार गम्भीर नभएकोले श्रमिक तथा चालु शिक्षक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको उल्लेख गरे ।
महासचिव राईले समितिलाई आवश्यक सहयोगको अपिल पनि गरेका थिए । फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यवाद दिंदै नेपाली श्रमिक, शिक्षक तथा बैंक वित्तीय क्षेत्रका श्रमिकहरुप्रति आईटिएफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विश्वभर यातायात क्षेत्रमा २ करोड सदस्य रही लण्डनमा मुख्यालय रहेको सो फेडेरेसनको विश्व कार्य समितिमा सबै महादेशबाट करिब ६० जना युनियनिष्टहरुले प्रतिनिधित्व गर्छन् ।

























