
काठमाडौं । देशमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आज (बुधबार) बिहान आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
देशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा राति आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने अनुमान गरिएको छ ।

























