
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन् । उनले सरकारको सिफारिसमा संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
आगामी वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक आह्वान गरिएको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संसदको अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
























