
विराटनगर । कोशीसहितका विभिन्न प्रदेशमा आज (शुक्रबार) बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको हो । हाल देशमा स्थानीय वायुको प्रभाव कायमै रहेको छ । बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । देशभर दिउँसो आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ ।
देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावनासमेत छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको केही स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।

























