
काठमाडौं । नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ ।
कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा ‘लाइन एरेष्ट’मा परेका उनलाई सैनिक हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको हो । कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा हिरासतमा लिएर सोधपुछ एवं अनुसन्धान अघि बढाइएको सैनिक उच्च स्रोतले बतायो ।
स्रोतका अनुसार सहायक रथी खड्कालाई बुधबारदेखि सैनिक हिरासतमा राखिएको छ । कोषको ७ करोड रुपैयाँ हिनामिना भएको सन्दर्भमा नेपाली सेनाले छानबिन अघि बढाएको छ ।
कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–०८० मा अनियमितता भएको विषय बाहिर आएको थियो । त्यसलगत्तै महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन अघि बढाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

























