विराटनगर । मोरङको उर्लाबारीमा स्कुटरले माथिबाट थचिरहेको अवस्थामा आज (शनिबार) बिहान १ जना पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बू बिहान ६ः३५ बजेतिर मृत भेटिएका हुन् । उर्लाबारी–८ जरुवापानीस्थित भित्री सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सडकको कल्भर्टदेखि अन्दाजी ६ फुट तल खसेको अवस्थामा स्कुटरले थिचिरहेको शव फेला परेको प्रहरीले जनाएको छ । लिम्बूको मृत्यु दुर्घटनामा परेर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार कल्भर्टबाट खसेपछि स्कुटरले थिचेर उठ्न नसक्दा लिम्बूको मृत्यु भएको हुनसक्छ । यद्यपि, अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ । बराल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।