
विराटनगर । नेकपा (एमाले)का सचिव एवं ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराई बारम्बार ‘नो केबलकार’ समूहको निसानामा परिरहेका छन् ।
‘नो केबलकार’ समूहले पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आएको छ । भट्टराई आफ्नो गृहजिल्ला जाँदा कालो झण्डा देखाउने, आक्रमण एवं दुर्व्यवहार गर्नेजस्ता हर्कतहरु भइरहेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आयोजित कञ्चनजंघा हीरक महोत्सवमा सहभागी हुन पुगेका पूर्वपर्यटन मन्त्री भट्टराईविरुद्ध शुक्रबार नाराबाजी भयो । हीरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए ।
महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर जाने क्रममा उनीविरुद्ध नाराबाजी भएको हो । आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएर भट्टराईलाई सुरक्षा दिएको थियो ।
प्रहरीले भिड तितरबितर पारेर हेलिकोप्टरसम्म पुर्यायो । केबलकार निर्माणलाई विवादमा ल्याएर ‘नो केबलकार’ समूहको नाममा भट्टराईमाथि अराजक गतिविधि भइरहेका छन् । अराजक गतिविधिका कारण भट्टराई आफ्नै गृहजिल्लामा असुरक्षित हुने अवस्था बनेको छ ।
महोत्सवमा सहभागी भएर काठमाडौं फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो । महोत्सवको उद्घाटन सकिएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गएका थिए । उनीसँगै रहेका भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे ।
भट्टराई सिंढी चढेर शौचालय उक्लिन थालेपछि ‘नो केबलकार’ समूहकाहरु नाराबाजीमा उत्रिए । आन्दोलनकारीको संख्या थपिँदै गएपछि सुरक्षा व्यवस्था कडा पारियो । प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिएर लैजानु परेको थियो ।
भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सीसमेत भएको थियो । आन्दोलनकारीमध्येका केदारजंग ताप्मादेनले प्रहरीसँग ठेलमठेल भएको बताए ।
लिम्बू संस्कार संस्कृतिमाथि भट्टराईले प्रहार गरेकाले आफूहरूले विरोध स्वरुप प्रदर्शन गरेको उनको दाबी छ । तर, भट्टराईले कुनै जातजातिको संस्कार संस्कृतिमाथि प्रहार गरेको जानकारीमा छैन ।
भट्टराई आएपछि लिम्बू समुदायको च्याब्रुङ नाचपनि कार्यक्रमस्थलमा देखाउन नपाएको ताप्मादेनको दाबी छ । च्याब्रुङ (केलाङ) नाच्नेहरू स्टेजमा फन्को लगाएर बाहिरिएका थिए । ’उहाँ लिम्बू समुदायको संस्कृतिप्रति पोजेटिभ हुनुहुन्न । कार्यक्रममा च्याब्रुङ पनि देखाइएन,’ उनको दाबी छ ।
पाथीभरा मुक्कुमलुङ केबलकारको विषयलाई लिएर ‘नो केबलकार’ पक्षधर भट्टराईको विरोधमा छन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा भएको कञ्चनजंघा हीरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बो लिम्बू केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजकसमेत छन् ।
शुक्रबारको कार्यक्रम फेम्बुकै अध्यक्षतामा भएको थियो । मन्त्रीलगायतका पाहुनालाई स्वागत र बिदाइ गर्न फेम्बू आफैं उपस्थित थिए । स्वागतको क्रममा फेम्बुले मन्त्रीलाई खादा लगाइदिए । तर, भट्टराई लगायतका अरु अतिथिलाई लगाइदिएनन् ।
भट्टराईविरुद्ध नाराजुलुस हुँदा फेम्बु भने मन्त्री पाण्डेसँगै थिए । फेम्बुले भने समुदायले दिउँसो कार्यक्रमस्थलमै कालो झण्डा देखाउने र विरोध गर्ने कार्यक्रम बनाएपनि आफूले त्यस्तो नगर्न आग्रह गरेको बताए । भट्टराई आयोजकको निमन्त्रणामै लेलेप पुगेका थिए ।
निम्ता दिएर बोलाएको आयोजकले उनीविरुद्ध नाराबाजी हुँदा भने कुनै प्रतिक्रिया जनाएन । नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि घटनाको जानकारी गराएका छन् । उनले विवेक पुर्याएर काम गर्न र प्रायोजकहरूको हतियार नबन्न तथा सामाजिक एकता र सद्भाव नबिगार्न सबैमा आह्वान गरेका छन् ।

महोत्सवको उद्घाटन सकेर फर्कने क्रममा केही व्यक्तिहरूले आफूविरुद्ध नारा लगाएको उनले बताए । ‘कार्यक्रम सकेर फर्कने क्रममा २–४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौं । प्रायोजकहरूको हतियार नबनौं । सामाजिक एकता र सदभाव नबिगारौं,’ भट्टाईले फेसबुकमा लेखेका छन् ।
कञ्जनजंघा हिमाल आरोहणको ७० वर्ष पुगेको अवसरमा ताप्लेजुङको लेलेपमा शुक्रबारदेखि कञ्चनजंघा महोत्सव सुरु भएको छ । महोत्सव आइतबारसम्म चल्ने छ ।
भट्टराईमाथि भएको हर्कतको एमाले ताप्लेजुङले विज्ञप्तिमार्फत भत्र्सना तथा खेद व्यक्त गरेको छ । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमुद्वारा जारी विज्ञप्तिमा अराजक गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनसमेत माग गरिएको छ ।

























