तस्बिर : कोशी आवाज टीभी ।विराटनगर । नेकपा (माओवादी केन्द्र) धरानका स्थानीय नेता सन्तोष लिम्बूमाथि मेयर हर्क साम्पाङ (हर्कराज राई)कै नेतृत्वमा आक्रमण भएको छ ।
धरान उपमहानगपालिकाका प्रमुख साम्पाङको एक्साहटमा उनका समर्थकले लिम्बूमाथि कुटपिट गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार बाटो निर्माणको विषयमा २ पक्षबीच विवाद भएको थियो ।
विवाद मिलाउन भनेर साम्पाङ सोमबार पुगेका थिए । समर्थकसहित पुगेका उनको उक्साहटमा माओवादीका स्थानीय नेतामाथि कुटपिट एवं आक्रमण भएको हो । घटनाको भिडियो नै सार्वजनिक भएको छ ।
भिडियोमा लिम्बू र मेयर साम्पाङबीच भनाभन भएको देखिन्छ । भनाभन भएर विवाद बढ्दै गएपछि साम्पाङका समर्थक आक्रमणमा उत्रिएको देख्न सकिन्छ । लिम्बूमाथि आक्रमण गर्न मेयर साम्पाङले समर्थकलाई उक्कासको पनि प्रष्ट हुन्छ ।
बाटोसम्बन्धी विवाद मिलाउनुको साटो साम्पाङले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिट एवं आक्रमण गरिएको लिम्बूले बताए । लिम्बू टोल विकास संस्थाका अध्यक्षसमेत हुन् ।
धरान उपमहानगरपालिका–११ मा नगरकोट–वनडाँडा बाटो स्तरोन्नतिका लागि कोशी प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । तर, स्थानीयबीच विवाद भएपछि सोमबार छलफल राखियो ।
छलफलमा विवाद बढ्दै गएपछि लिम्बू कुटपिटको सिकार भएका हुन् । मेयर साम्पाङले लिम्बूलाई ‘वडा सदस्यजत्तिको पनि हैसियत नभएको’ भन्दै छलफल गर्न जरुरी नभएको बताएको प्रत्यक्षदर्शीको भनाइ छ । ‘हैसियत नभएको’ भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङबीच विवाद भएको थियो ।
‘मेयरले नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि आक्रमण गरे । छलफलका लागि भनेर साम्पाङ समर्थकसहित आएका थिए । मेयरकै उक्साहटमा ममाथि हमला भयो,’ लिम्बूले भने ।

























