
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे ।
नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ । उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे ।
उनले भने, ’यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरुलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरु मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरुले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ ।’

























