जम्मू–कश्मीरमा नेपालीसहित २७ जना मारिए

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार ०७:२२

एजेन्सी । भारतको जम्मू–कश्मीरस्थित पाहलगामको बैसरान भन्ने स्थानमामा बन्दुकधारीले मंगलबार पर्यटकमाथि अन्धाधुन्ध आक्रमण गर्दा नेपालीसहित २७ जना मारिएका छन् । मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

मारिनेमा हिन्दु धर्मावलम्बी पर्यटक रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । आतंककारीहरूले पर्यटकहरूमाथि गोली बर्साउँदा मारिएकामध्ये १ जना नेपाली सुदीप न्यौपाने पनि रहेको बताइन्छ । यद्यपि, सरकारी निकायले यसको पुष्टि गरिसकेको छैन । घटनामा ३६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये नेपालका १, यूएईका १ पर्यटक र २ जना स्थानीय नागरिक रहेका छन् । बाँकी पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार यस आतंकवादी हमलाको जिम्मा लश्कर–ए–तैयबा नामक पाकिस्तानस्थित आतंकावादी समूहको छायाँ संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ। यो आक्रमण केही वर्षयताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । घटना भएको पहलगाम पर्यटकीय क्षेत्रका रूपमा परिचित छ ।

यो श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवर्धन गर्दै लगेको छ । सन् २०२४ मा झण्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप पाकिस्तानमाथि लगाउने गरेको छ । पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।

योभन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० जना सुरक्षाकर्मी मारिएका थिए । सन् २००० मा पनि आक्रमण हुँदा ३६ भारतीय नागरिकको मृत्यु भएको थियो ।

यसैबीच, आतंकवादी आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याउने निर्णय लिएका छन् । भ्रमण छोट्याएर उनी आज (बुधार) राति भारत फर्कनेछन् ।

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

आतंकवादी हमलापछि भारतका गृहमन्त्री अमित शाह घटनास्थलको सुरक्षा वस्तुस्थिति बुझ्न श्रीनगर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीरको पाहलगाममा भएको दुःखद आतंकवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिए । लेभिटले भने, ‘पाहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमार्फत जानकारी गराइएको छ। राष्ट्रपति ट्रम्पले यथाशीघ्र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने छन् र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्ने छन् ।’

राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याइएको छ । अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतलाई दृढता पूर्वक साथ दिनेछ । हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.