
विराटनगर । मोरङको विराटचोकमा इन्टरनेटको तार विस्तार गर्ने क्रममा करेन्ट लागेर बुधबार अपरान्ह १ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् ।
सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकस्थित चाँदनी पेट्रोल पम्पनजिक अपरान्ह ४ बजेतिर घटना भएको हो । बिजुलीको पोलमा चढेर टेकमाइन इन्टरनेटको तार विस्तार गर्ने क्रममा २ जनालाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकामध्ये इलामको चुलाचुली गाउँपालिका–३ का अन्दाजी २८ वर्षीय राजेश लावतीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर बिजुलीको पोलबाट खसेर घाइते भएका लावतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । त्यस्तै, करेन्ट लागेर सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का अन्दाजी ४३ वर्षीय बालकुमार अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई नोबेलबाट रेफर गरेर थप उपचारका लागि आर्या अस्पतालमा लगिएको डीएसपी जोशीले बताए । उनका अनुसार अधिकारीको नाक र मुखबाट रगत बगिरहेको छ ।
इन्टरनेटको तार ‘सिफ्टिङ’ गर्न बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेर घटना भएको उनको भनाइ छ । मृतक र घाइते दुवै जना टेकमाइन इन्टरनेटका कर्मचारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी जोशीले दिए ।

























