माओवादी संसदीय दलको बैठक, यस्ता छन् निर्णय

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार ११:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज (बिहीबार) बिहान बसेको छ । बैठकमा विभिन्न निर्णयहरु भएका छन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाब दिने निर्णय बैठकमा भएको छ । शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णयसमेत भएको छ ।

साथै, जाम्मू–काश्मीरमा आतंकवादी आक्रमणमा १ नेपालीसहितको मृत्यु भएको घटनाको भर्त्सना गर्दै बैठकले वैशाख १२ गतेको विनाशकारी भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापन गर्ने निर्णय लिएको छ । ‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको निष्कर्ष बैठकले निकालेको छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरुलाई जानकारी दिँदै माओवादी केन्द्रले खेल्नुपर्ने भूमिकाबारे निर्देशनात्मक मन्तव्य राखेका थिए । शिक्षकका मागप्रति सरकार संवेदनशील नभएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष बैठकमा निकालिएको पाण्डले बताए ।

शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सडक र सदनबाट भूमिका खेल्नुपर्ने प्रचण्डले बैठकमा बताएका थिए । शिक्षकका समस्या समाधानका लागि अरु प्रतिपक्ष दलहरुसँग पनि सहकार्य, छलफल र संवाद गरेर एउटा निचोडमा पुग्ने निर्णय बेठकमा भएको छ । शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको निष्कर्ष बैठकको छ ।

जनताका समस्या समाधानका लागि सरकार र सडकबाट पहल गर्ने नीति माओवादीले लिएको छ । बैठकको सुरुमा गोपीबहादुर अछामीले राष्ट्रियसभा र हितराज पाण्डेले प्रतिनिधिसभामा भएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए ।

बैठकमा राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाका बारेमा समेत छलफल भएको थियो । शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितको समस्या समाधानमा नलागेर सरकार उल्टो बाटो हिँडिरहेको प्रचण्डले बताएका छन् । साथै, बैठकमा विपक्षी दलहरूको मोर्चाबन्दीलाई कसिलो बनाउन प्रयास गर्ने निर्णयसमेत भएको छ ।

माओवादीले अब संसदीय गतिविधिका विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने भएको छ । संवाद गरेर विपक्षीको साझा धारणा बनाइने जानकारी पाण्डेले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.