
विराटनगर । निजी अस्पतालका आवासीय चिकित्सकलाई सरकारी आठौं तह बराबरको तलब सुविधा दिन नमानेपछि चिकित्सकहरु आन्दोलित भएका छन् । चिकित्सकहरुले मोरङका सरकारी र निजी अस्पतालमा आकस्मिक सेवाबाहेक सबै उपचार सेवा बन्द गराएका छन् ।
विराटनगरका दुई ठूला शिक्षण संस्था नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पतालमा भने बहिरङ्ग विभाग (ओपीडी) सेवा जारी छ । नेपाल चिकित्सक संघ कोशी प्रदेशले यसबारे छलफल गरेको छ ।
संघका कोशी प्रदेश अध्यक्ष डा. राजेश चौधरीले दुई ठूला अस्पतालले ओपीडी खुला राखेको कुरा सुनेको उल्लेख गर्दै माग पुरा नहुञ्जेल आकस्मिक सेवाबाहेक अन्य सेवालाई बन्द गर्न भनिएको बताए ।
सरकार र नेपाल चिकित्सा आयोगले समेत आवासीय चिकित्सकलाई आठौं तह बराबरको करिब ४८ हजार रुपैयाँ पारिश्रमिक दिनुपर्ने पत्राचार गरेपनि पालना हुन नसकेपछि आन्दोलनमा उत्रिएको डा. चौधरीले बताए ।
‘सरकार र आयोगले नै आवासीय चिकित्सकलाई दिने पारिश्रमिकको विषयमा ४८ हजार रुपैयाँ तोकेको छ तर अझै पनि १० देखि २० हजार रुपैयाँमा काम लगाउने भइरहेको छ । यसमा हाम्रो आपत्ति छ’ उनले भने ।
चौधरीका अनुसार विराटनगरका अन्य निजी अस्पतालले आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका छन् । विराटनगरमा करिब ३ जना आवासीय चिकित्सक कार्यरत छन् ।
यसैबीच, चिकित्सकको आन्दोलनका कारण बिरामी समस्यामा पर्न थालेका छन् । कोशी अस्पताल विराटनगरमा हर्नियाको उपचारका लागि भर्ना भएका विराटनगर–५ का बिहारी ठाकुर समस्यामा परेका छन् । बिहीबार अत्यधिक पीडा भएपछि अस्पतालमा भर्ना भएका ५२ वर्षीय ठाकुरको चिकित्सकहरुले शुक्रबारबाट उपचार सुरु गर्ने जनाएका थिए ।
आन्दोलनका कारण उपचार हुन सकेको छैन । ठाकुरका ज्वाईँ विराटनगर पिपल चौकका ब्रम्हदेव ठाकुरले उपचारका लागि सबै तयारी भइसक्दा आन्दोलनले समस्या गराएको बताए ।

























