
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनमा सहभागी सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेर बिहान १० बजेदेखि उम्मेदवारी दर्ता फारम वितरण सुरु गरेको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार उम्मेदवारहरूले सभागृहभित्रै निर्धारित रकम बुझाएपछि मनोनयन दर्ता फारम पाउने व्यवस्था गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली पनि राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दर्ताका लागि दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार उल्लेख्य रूपमा बढाएको छ । सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति र महिला उपसभापतिको नयाँ पद थपिएको छ । अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याइएको छ भने तीमध्ये एक पद महिला महामन्त्रीका लागि अनिवार्य गरिएको छ ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको छ। कांग्रेसले प्रवक्ता पद पनि थप गरेको छ । आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरिएको पार्टीले जनाएको छ । यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो ।
कांग्रेसले महाधिवेशन प्रतिनिधिको संख्या र समावेशी सहभागिता बढेसँगै पार्टीको केन्द्रीय संरचना पनि विस्तार गरिएको जनाएको छ । नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

























