
विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । भोलि सम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीको वातावरण पर्याप्त भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
प्रदेश सरकारले सम्मेलनमा ७१ वटा परियोजनालाई सोकेसमा प्रस्तुत गरेको छ । ति परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड छ ।
कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटीलगायत क्षेत्रका ७१ परियोजना मध्ये दुई दर्जन परियोजना सञ्चालनका लागि सम्झौता गर्ने सरकारको तयारी छ । सम्मेलनमा प्रदेशमा सञ्चालन भइरहेका र सञ्चालनको तयारीमा रहेका केही परियोजना पनि समावेश गरिएको छ ।
सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजना छन् । लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाका अनुसार दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने चरणमा छन् ।






















