
काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पूरक अभियाेग दायर भएको छ । ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।
उनलाई ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । सांसद राई यो सहकारीको सहसचिव थिइन् ।
सहकारी ठगी प्रकरणमा पुस २१ गते ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।
राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो । यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि प्रतिवादी छन् ।
यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो । सांसद राई पक्राउ परेको १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।

























