कोशीका कर्मचारीलाई कानुनविपरीत तलब

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ जेष्ठ ६, मंगलबार १६:०८

विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका कर्मचारीलाई कानुनविपरीत तलब भुक्तानी गर्ने गरिएको खुलेको छ ।

महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदनमा तलबी प्रतिवेदन पारित नगरिकन कानुनको अवज्ञा गर्दै कर्मचारीलाई तलब निकासा गरिएको विषय समावेश छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–०८१ मा मात्रै कानुन मिचेर कर्मचारीका लागि १ अर्ब ६३ करोड ४७ लाख ९५ हजार रूपैयाँ खर्च गरिएको हो ।

Advertisement

कर्मचारीको तलबी प्रतिवेदन पारित नगरिकन तलब खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । तर, कोशी प्रदेशमा प्रतिवेदन नै पारित नगरिकन कानुन मिचेर कर्मचारीलाई तलब भुक्तानी गर्ने गरिएको हो । महालेखाले कानुनमा भएको व्यवस्था बमोजिम मात्रै तलब खर्च गर्नुपर्ने सुझाव दिएको छ ।

कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४७ को उपदफा ४ मा तलबी प्रतिवेदन पारित गरेर मात्रै तलब भत्ता खर्च लेख्नुपर्ने व्यवस्था छ । उक्त उपदफामा प्रदेश किताबखानाबाट तलबी प्रतिवेदन पारित नगराइकन तलब भुक्तानी गर्न हुँदैन भनिएको छ ।

तर, ऐनमा भएको व्यवस्था बमोजिम प्रदेश किताबखाना गठन भएर कार्य प्रारम्भ नभएसम्म प्रचलित कानुन बमोजिमको निकायबाट तलबी प्रतिवेदन पारित गर्न बाधा पर्ने छैन । सरकारी कर्मचारीको नियुक्ति, बढुवा, सरुवा आदि सम्बन्धी अभिलेख राख्ने जिम्मेवारी किताबखानाको हो ।

ऐनको दफा ४७ को उपदफा ५ मा तलबी प्रतिवेदन पारित नगरी तलब भुक्तानी गरेमा त्यस्तो कर्मचारीले पाएको तलब भत्ता त्यसरी तलब भुक्तानी गर्ने पदाधिकारीबाट असुलउपर गरिने व्यवस्था छ । फाजिलमा रहेका कर्मचारीलाई तलब भुक्तानी गर्न भने कानुनले कुनै बाधा पुर्याउने छैन ।

कर्मचारीलाई तलब भुक्तानी गर्दा कार्यालय प्रमुख र लेखा प्रमुख जिम्मेवार हुन्छन् । कानुनविपरीत तलब वितरण हुँदा ऐनमा भएको व्यवस्था बमोजिम उनीहरु नै कारबाहीमा पर्ने हुन् । अर्थात्, तलबबापत भुक्तानी भएको रकम उनीहरुबाटै असुलउपर गर्नुपर्ने हुन्छ ।

‘आफूले तलब लिन पाउने भएपछि ऐन कानुन केही नमान्दा पनि हुन्छ भन्ने सोचाइले काम गरेको छ । कानुन मिचेर तलब दिनु सरासर गलत हो । यसमा तलब निकासा गर्ने कार्यालय प्रमुख र लेखा समूहका कर्मचारी सबै दोषी हुन्,’ स्रोतले भन्यो । संघीय सरकार अन्तर्गतका कर्मचारीले भने प्रतिवेदन पारित गराएर नै तलब बुझेका छन् ।

कोशीका प्रदेश लेखा नियन्त्रक दामोदर खत्री तलबी प्रतिवेदन ऐनले व्यवस्था गरेको विषय भएको बताउँछन् । ‘संघको हकमा संघीय निजामती सेवा ऐनले व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा राष्ट्रिय किताबखानाले पारित गर्छ । प्रदेशको हकमा प्रदेश किताबखानाले प्रतिवेदन पारित गर्ने हो । जिल्लाको हकमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको छ,’ उनले भने ।

उनका अनुसार स्थानीय र प्रदेश सरकार अन्तर्गतका कार्यालयका कर्मचारीको तलबी प्रतिवेदन मोरङ जिल्लाको प्रदेश किताबखाना तथा अरु जिल्लाको हकमा प्रदेश लेखा इकाईले पारित गर्छ । किताबखाना नहुँदा प्रदेश लेखा नियन्त्रकको कार्यालयले प्रतिवेदन पारित गर्ने खत्रीको भनाइ छ । कोशीमा भर्खरै प्रदेश किताबखाना स्थापना भएको छ ।

किताबखाना नहुँदा कोष तथा लेखा नियन्त्रण कार्यालयसमेतका सम्बन्धित निकायबाट तलबी प्रतिवेदन पारित गर्नुपर्ने व्यवस्थाविपरीत गएर तलब भुक्तानी गरिएको छ । ‘सुरुमा पद र कार्यालयको संरचना प्रदेश किताबखानामा दर्ता हुनुपर्छ । किताबखाना नहुँदा प्रदेश लेखा नियन्त्रकको कार्यालयले काम गर्छ । प्रतिवेदन पारित नगराइकन तलब खर्च गर्नु कानुनको अवज्ञा नै हो,’ खत्रीले भने ।

कोशीका प्रदेश लेखा नियन्त्रक दामोदर खत्री । 

कोशीमा किताबखाना भर्खरै स्थापना भएकाले कर्मचारी र कार्यालयको संरचना दर्ताकै प्रक्रियामा रहेको हुनसक्ने उनको भनाइ छ । ‘अर्को वर्षदेखि प्रतिवेदन पारित गरेर तलब भुक्तानी हुन्छ होला । २०८१–०८२ मा प्रतिवेदन पारित गरेरै तलब वितरण गरिएको छ,’ उनले भने, ‘त्यसअघि किताबखाना नभएकाले पनि अन्योल भएको हुनसक्छ । तर, तलबी प्रतिवेदनले यकिन गरिदिने कर्मचारीको तलब र ग्रेडको आधारमा खर्च लेख्नुपर्छ ।’

प्रत्येक वर्ष कर्मचारीले ग्रेड थप पाउने व्यवस्था छ । पारित प्रतिवेदनमा उल्लेख भएपछि मात्रै कर्मचारीले थप ग्रेड पाउने खत्रीले बताए । उनका अनुसार प्रतिवेदन पारित नगरिकन लेखेको तलब खर्च लेखा परीक्षणका क्रममा बेरुजु हुन्छ ।

सर्वोच्च अदालतमा ग्रेड सम्बन्धी मुद्दा विचाराधीन रहेकाले कोशीको हकमा तलबी प्रतिवेदन पारित हुन नसकेको उनी बताउँछन् । तर, त्यसरी लिएको तलबलाई महालेखा परीक्षकले भने बेरुजु लेख्ने गरेको खत्रीले बताए । उनका अनुसार महालेखा परीक्षकले यो विषय ३–४ वर्षदेखि उठाइरहेको छ ।

‘प्रदेश लेखा नियन्त्रकको कार्यालयविरुद्ध सर्वोच्चले आदेश दिएकाले पनि तलबी प्रतिवेदन पारित गर्न सकिएन,’ उनी भन्छन् । उनका अनुसार समायोजन हुँदा तलब वृद्धि भएका कर्मचारीको हकमा ग्रेड पाउने वा नपाउने भन्ने यकिन छैन । ‘कर्मचारीले चैं पाउने भनेर ग्रेड खाइरहेका थिए । महालेखा परीक्षकले भने नपाउने भनेर बेरुजु लेख्यो,’ प्रदेश लेखा नियन्त्रक खत्रीले भने, ‘महालेखाले ग्रेड नखानु र नखुवाउनु भनेर परिपत्र गरेको थियो । परिपत्र गरेपछि कर्मचारीले सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।’

समायोजन ऐनमा अन्योलता रहेसँगै मुद्दा दायर भएपछि सर्वोच्चले खाइरहेको ग्रेड निरन्तर खान मिल्छ भनेर आदेश गरेको उनको भनाइ छ । सर्वोच्चको आदेशपछि कर्मचारीले ग्रेड लिइरहे पनि महालेखाले भने त्यसलाई बेरुजु मान्ने गरेको उनी बताउँछन् । सर्वोच्चले मुद्दाको फैसला गरेपछि त्यसलाई कार्यान्वयनमा लगिने जानकारी खत्रीले दिए ।

उनका अनुसार कोशी प्रदेशमा तलब र ग्रेडको बेरुजु धेरै छ । ‘तलबी प्रतिवेदन पारित नहुनु र महालेखाले प्रश्न उठाइरहनु प्राविधिक समस्या हो । सर्वोच्चको फैसलापछि यो विषयको टुंगो लागेर बेरुजु फर्छ्यौट गरिने छ,’ खत्रीले भने ।

कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं प्रवक्ता पवनकुमार तिमिल्सेना तलब स्केल, दरबन्दी संख्या र ग्रेडको विषय रुजु गर्न तलबी प्रतिवेदन पारित गर्नुपर्ने बताउँछन् । ‘प्रतिवेदन सामान्यतया साउनमा परित हुन्छ । सरुवा भएर गएको कार्यालयले पनि कर्मचारीसँग तलबी प्रतिवेदन माग गर्छ,’ उनले भने ।

कोशीमा प्राविधिक समस्याले तलबी प्रतिवेदन पारित नभएको हुनसक्ने तिमिल्सेनाको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रतिवेदन प्रदेशसभामा पेस भएर छलफल हुने र त्यहाँबाट प्राप्त निर्देशनलाई पालना गरिने उनले बताए ।

‘तलबी प्रतिवेदनको विषय महालेखाले उठाएको छ । त्यसलाई प्रदेशसभामा पेस गरिने छ । सभाबाट मुख्यमन्त्री कार्यालयलाई निर्देशन हुन्छ । निर्देशनलाई प्रदेश सरकारले कार्यान्वयन गर्छ,’ उनले भने । कोशीमा रहेको तलबी प्रतिवेदनको समस्या अब चाँडै समाधान हुने अपेक्षा तिमिल्सेनाको छ ।

कोशीको स्वीकृत दरबन्दी ३ हजार ९ सय ८४ जनाको छ । दरबन्दीमध्ये १ हजार ८ सय ७ जनाको मात्रै पदपूर्ति भएको र २ हजार १ सय ७७ दरबन्दी रिक्त रहेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । संगठन संरचना पुनरावलोकन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि महालेखाले दिएको छ ।

 

तपाइको प्रतिक्रिया
अरनिको कलेजमा विज्ञान पढ्ने विद्यार्थीको तीव्र आकर्षण 
अरनिको कलेजमा विज्ञान पढ्ने विद्यार्थीको तीव्र आकर्षण 
‘जिपिएको मात्र पछि दौडिँदैनौ, विद्यार्थीलाई अब्बल बनाउँछौँ’: प्रिन्सिपल पुरी 
‘जिपिएको मात्र पछि दौडिँदैनौ, विद्यार्थीलाई अब्बल बनाउँछौँ’: प्रिन्सिपल पुरी 
नेपालले अमेरिकालाई ९ विकेटले हरायो
५ वर्षमा पहिरोबाट ७४३ जनाको मृत्यु, मनसुन नजिकिँदा पनि सरकारको तयारी सुस्त
मनसुनमा कम वर्षा हुने प्रक्षेपणले उत्पादकत्व घट्ने जोखिम
जलवायु परिवर्तनको मारमा हिमश्रृंखला
मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार
वडा सचिवलाई धम्की दिने खड्का काठमाडौँबाट पक्राउ
इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध फुकुवा
एमाले केन्द्रीय सचिवालय बैठक स्थगित, सोमबार ओली निवास गुन्डुमा बस्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.