विवादमा तानियो महेन्द्रनगर प्रहरी : काम देखाउन निहत्थामाथि गोली

Share this
737shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ जेठ ११, आइतबार २०:५१

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू ज्यालामजुरी गर्छन् । सामान्य आर्थिक अवस्थाका उनी घर बनाउने मिस्त्री हुन् ।

दैनिक ज्यालामजुरी नगरे घरको चुल्हो बल्दैन । रामप्रसादका श्रीमती, ४ छोरा र बुहारीहरु छन् । परिवार धान्न र जीविका चलाउन ज्यालामजुरी उनको दैनिकी हो । शनिबार केही फुर्सद पाए । अनि च्याउ खोज्न जंगलतिर लागे ।

जंगलबाट घर फर्किदै गर्दा साँझ उनले कल्पनाभन्दा बाहिरको घटना बेहोर्नु पर्यो । साँझ ७ बजेतिर सादा पोसाकमा रहेका युवाहरुसँग रामप्रसादको जम्काभेट भयो । अचानक ती युवाले गोली बर्साउन थाले । घुँडाको तल पिँडुलामा गोली लागेर लिम्बू घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गोली बर्साउनेहरु इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका सादा पोसाकका प्रहरी थिए । ‘रामप्रसाद घर फर्किदै रहेछन् । जंगलबाट निस्किँदै गर्दा अरु अपरिचित ४–५ जना युवाहरु पनि त्यहाँ भेटिए । सादा पोसाकका प्रहरी पनि बाटो ढुकेर बसेका रहेछन्,’ वडा सदस्य ध्वजवीर लिम्बू भन्छन्, ‘त्रिपक्षीय भेट भएपछि सादा पोसाकका प्रहरीले रोक्न खोज्दा ती युवाहरु भाग्न खोजेछन् । नियन्त्रणमा लिने नाममा प्रहरीले अचानक गोली चलाएछ । घटनामा निहत्था रामप्रसाद घाइते भएका छन् ।’

‘परिवारको गुजाराका लागि रामप्रसाद ज्यालामजुरी गर्छन् । त्यस्तो कुनै अवैध गतिविधि र कानुनविपरीतका काममा संलग्न रहेको थाहा छैन,’ ध्वजवीर भन्छन् । तर, रामप्रसादमाथि प्रहरीले किन गोली प्रहार गर्यो ? भनेर प्रश्न उठिरहेको उनले बताए ।

घटनापछि महेन्द्रनगर प्रहरी विवादमा तानिएको छ । प्रहरीको कारबाही र गतिविधिमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीय र जनप्रतिनिधिले घटनालाई ‘प्रहरीको काम देखाउने हतारो’को परिणाम भन्दै आक्रोश पोखेका छन् । निहत्था र निरपराध व्यक्तिलाई गोली हानिएको भनेर प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।

प्रहरीले भने बराहक्षेत्र–३ कालिन्द्र सामुदायिक वनमा लागुऔषध गाँजाको ‘एम्बुसिङ’का लागि गएको टोलीले आत्मरक्षाका लागि गोली चलाएको उल्लेख गरेको छ । ‘वनभित्र ४–५ जना मानिसहरु बोरा बोकेर आइरहेका थिए । प्रहरीलाई देख्नसाथ भाग्न खोजेपछि नभाग्नुस् भन्दा ४–५ जना मध्ये रामप्रसाद लिम्बूले धारिलो हतियार खुकुरीले प्रहरीलाई प्रहार गर्न खोज्दा सुरक्षाका लागि गोली चलाउनु पर्यो,’ प्रहरीले भनेको छ ।

सानो चाइनिज पेस्तोलले २ राउण्ड हवाईफायर र १ राउण्ड लिम्बूको घुँडामुनि पिँडुलामा प्रहार गरिएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । उनका अनुसार गोली लागेर घाइते भएका लिम्बूलाई तत्काल इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख, इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले उपचारका लागि धरान लगेको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगू नेतृत्वको टोलीसमेत घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट खुकुरी, रुख काट्ने आरा, खन्तीसमेत बरामद गरेको एसएसपी दाहाल बताउँछन् ।

उनका अनुसार लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी खटिएको थियो । जंगलबाट निस्किँदै गरेका ४–५ जनामध्ये रामप्रसादले खुकुरी हान्न खोजेपछि गोली चलाउनु परेको दाबी प्रहरीले गरे पनि परिवारका सदस्य र आफन्त भने उनको साथमा खुकुरी नै नभएको बताउँछन् ।

‘प्रहरीले नियन्त्रणमा लिन खोजेपछि डरले भागेका ४–५ जनाले खुकुरीलगायतका सामान घटनास्थलमा छाडेका हुन् । ती युवाहरु को हुन् भन्ने अहिलेसम्म खुलेको छैन । उनीहरुलाई रामप्रसादले पनि चिनेका रहेनछन् । कहाँ पुगेर आएका थिए भन्ने पनि पत्ता लागेको छैन । उनीहरु भागेपछि नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा निहत्था व्यक्ति चैं घाइते भए,’ प्रहरी स्रोतले भन्यो । ती युवाहरुको पहिचान भइसकेपछि मात्रै उनीहरु कहाँ र कुन काममा गएर आएका थिए भनेर यकिन हुने स्रोतको भनाइ छ ।

स्थानीयका अनुसार हतियार छ भन्दैमा निहत्थामाथि गोली प्रहार गर्नु प्रहरीले लापरबाही हो । एउटा प्लाष्टिकको झोला मात्रै साथमा भएका व्यक्तिले खुकुरी हान्न खोजे भनेर प्रहरीले दाबी गर्नु गलत भएको स्थानीय बताउँछन् । उनीहरुले ज्यालामजुरी गरेर जीविका चलाउने व्यक्तिलाई गोली हान्नु प्रहरीको लापरबाही र गम्भीर विषय भएको बताए ।

‘प्रहरीले दाबी गरे पनि मसँग खुकुरी थिएन भनेर रामप्रसाद आफैंले बताएका छन्,’ वडा सदस्य ध्वजवीर भन्छन् । प्रहरीले जनप्रतिनिधिका रूपमा घटनास्थल मुचुल्कामा उनैलाई हस्ताक्षर गराएको छ ।

‘साँझ ७ः१५ बजेतिरको घटना हो । मलाई मुचुल्कामा हस्ताक्षर गरिदिनु पर्यो भनेर साँझ ७ः४२ बजेतिर नडाहा प्रहरी चौकीबाट फोन आयो । म ७ः५४ बजेतिर त्यहाँ पुगें । अनि मात्रै घटनाका बारेमा थाहा भयो । मुचुल्कामा हस्ताक्षर पनि गरियो । तर, अहिले आएर बुझ्दा वास्तविकता अर्कै रहेछ,’ उनले भने । ध्वजवीरले प्रहरीको चरम लापरबाहीले घटना भएको बताए ।

काम देखाउने नाममा प्रहरीले अनेक हर्कत गरिरहेको स्थानीयदेखि जनप्रतिनिधिसम्मको गुनासो छ । काम देखाउने नाममा सर्वसाधारण नागरिकमाथि गोली बर्साउनु गलत भएको उनीहरुको भनाइ छ । घटनालगत्तै प्रहरीले गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको उल्लेख गरेको थियो । तर, अहिले आएर प्रहरीको बोली फेरिएको छ ।

प्रहरीले रामप्रसादलाई काठ तस्कर भनिरहेको छ । ‘काठ तस्करीमा संलग्न रहेको पाइयो,’ एसएसपी दाहालले भने । प्रहरीको लापरबाही र अस्पष्ट विवरणबीच गोलीले घाइते भएर एउटा सर्वसाधारण नागरिकले पीडा बेहोर्नु परिरहेको छ ।

प्रहरीले गाँजा र काठ तस्करीको कुरा गरे पनि घटनास्थलबाट त्यसको कुनै प्रमाण फेला पार्न सकेन । ‘गाँजा वा काठ तस्करलाई नियन्त्रणमा लिन गोली चलाएको दाबी गर्ने प्रहरीले घटनास्थलबाट त्योसँग सम्बन्धित प्रमाण फेला पार्नुपर्छ । नत्र गोली काण्डलाई ढाकछोप गर्नका लागि घटना अन्यत्र मोड्न पाइँदैन । प्रहरीले गल्ती स्वीकार गर्नुको साटो आफू जोगिन अनेक बहाना बनाइरहेको छ,’ अर्का १ जनप्रतिनिधिले भने ।

रामप्रसादका छिमेकी सन्तोष ओख्रबुले पनि उनी तस्करीलगायतका कुनै अवैध धन्दामा संलग्न नरहेको बताए । ‘ज्यालामजुरी गर्ने व्यक्ति हुन् । के को तस्कर हुनु ?,’ उनले भने । प्रहरीले आफूबाट गल्ती भइसकेपछि ढाकछोप गर्न खोजेर घटनालाई अन्यत्र मोड्ने प्रयास गरेको हुनसक्ने ओख्रबुको आशंका छ ।

प्रहरीले अचानक हवाईफायर गर्न थालेपछि डराएर रामप्रसाद पनि भागेका थिए । वडा सदस्य ध्वजवीरका अनुसार रामप्रसादले भाग्ने क्रममा आफूलाई गोली लागेको थाहा पाए । ‘गोली लागेपछि पनि करिब २० मिटरजति भागेछन् । त्यसपछि भुँइमा थचक्क बसेछन् । प्रहरी पुगेपछि मलाई किन गोली हानेको ? उपचार गर्न लैजाउ भनेछन् । त्यसपछि अस्पताल लगिएछ,’ ध्वजवीर भन्छन् ।

घटनापछि स्थानीय र जनप्रतिनिधिहरु असन्तुष्ट बनेका छन् । प्रहरीको कामकारबाही र कार्यशैलीप्रति स्थानीयले तीव्र असन्तुष्टि पोखेका छन् । स्थानीयका अनुसार प्रहरीले जबरजस्ती रामप्रसादलाई ‘मैले खुकुरी बोकेको थिएँ’ भन्न लगाइरहेको छ ।

नुबझिकन र मनलाग्दी सर्वसाधारणलाई गोली हान्ने प्रहरीले वास्तविकतालाई पनि बंग्याउन खोजिरहेको गुनासो उनीहरुको छ । बराहक्षेत्र–३ का वडाध्यक्ष राजदीप लामाले घटना हुँदा आफू बाहिर रहेको बताए । ‘घटनाका बारेमा मिडियाबाट सुनेको छु । त्यहाँ केही कमजोरी भएको जानकारीमा आएको छ । म त्यहाँ नभएकाले सबै कुरा थाहा हुन सकेन,’ उनी भन्छन् ।

अनुसन्धानको विषय भएकाले तत्काल टिप्पणी गर्न नमिल्ने राजवीरले बताए । तर, प्रहरीले भनेजस्तो रामप्रसाद काठ वा गाँजा तस्कर नभएको र घटना भएका बेला खुकुरी पनि साथ नबोकेको पाइएको जानकारी उनले दिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रमुख, इन्स्पेक्टर दिवश कुँवरले भने रामप्रसादको साथमा जहिल्यै खुकुरी हुने गरेको दाबी गरे । प्रहरीमाथि प्रहार गर्न खोजेकै कारण गोली चलाउनु परेको उनको दाबी छ । घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने उनले बताए ।

यद्यपि, कुँवरको पछिल्लो कामकारबाही र कार्यशैलीमाथि स्थानीयले बारम्बार प्रश्न उठाइरहेका छन् । काम देखाउने नाममा मनपरी गरिरहेको आरोप उनीमाथि लाग्ने गरेको हो । पछिल्लो गोली काण्ड पनि त्यो आरोपलाई पुष्टि गर्ने आधार बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.