कोशीमा प्रहरी सेवालाई परिणाममुखी बनाइने छ : डीआईजी कार्की

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १२, सोमबार १७:४६

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) ईश्वर कार्कीले प्रहरी सेवालाई परिणाममुखी बनाइने बताएका छन् ।

प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको १५ औं दिनमा आज (सोमबार) पत्रकारसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रमको आयोजना गर्दै कार्कीले ‘बेस्ट पुलिसिङ’मार्फत प्रहरी सेवालाई नतिजामुखी र परिणाममुखी बनाइने प्रतिबद्धता जनाएका हुन् । ‘बेस्ट पुलिसिङ’को अवधारणामा आधारित प्रहरी संगठनलाई जनमैत्री, उत्तरदायी र प्रभावकारी बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै डीआईजी कार्कीले प्रहरीको अनुसन्धान क्षमतामा समेत सुधार ल्याइने बताए । गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा ‘गाइडलाइन’का आधारमा कार्ययोजना बनाएर प्रहरीको अभियानलाई तीव्र गतिमा अगाडि बढाइने उनको भनाइ छ ।

कार्कीले पछिल्लो १५ दिनभित्रमा प्रदेशभरिबाट ४५ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिए । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरे पनि सजाय एवं जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार रहेकालाई पक्राउ गर्न अभियान चलाइएको उनले बताएका छन् ।

फरार प्रतिवादी पक्राउ अभियान प्रहरीको ‘मिसन’नै भएको कार्कीको भनाइ छ । उनका अनुसार पछिल्लो २ सातामा प्रतिवादी पक्राउ गरेर १६ वर्ष कैद र २६ लाख रूपैयाँ जरिबाना असुल गरिएको छ ।

लागुऔषधको समस्या कोशी प्रदेशमा गम्भीर रहेको उनले बताए । कार्कीले लागुऔषध मुलुककै समस्याका रूपमा देखा परेको उल्लेख गरे । पछिल्लो १५ दिनभित्रमा १ हजार २ सय किलोग्राम गाँजा र ३ सय ग्राम ब्राउन सुगर (खैरो हेरोइन)सहित विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको जानकारी डीआईजी कार्कीले दिएका छन् ।

‘लागुऔषधको समस्या देशव्यापी छ । यसलाई नियन्त्रण गर्दै आमनागरिकमा व्यापक जनचेतनामूलक कार्यक्रम र अन्तरसम्वाद आवश्यक छ,’ उनी भन्छन् । प्रहरीले नियमित काम कारबाहीबाहेक विभिन्न जनचतेनामूलक कार्यक्रम र सामाजिक कार्य पनि गर्दै आएको उनको भनाइ छ ।

कार्कीले भन्सार छली एवं चोरी तस्करी नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिने बताए । तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाइने र त्यसलाई निरन्तरता दिने उनको भनाइ छ । उनले पछिल्लो २ साताभित्रमा प्रदेशभरिबाट ४ करोड बढीका अवैध सामान बरामद गरेर भन्सारमा बुझाइएको बताए ।

ट्राफिक व्यवस्थापनसम्बन्धी समस्या गम्भीर रहेको र यसतर्फ विशेष योजनाका साथ काम भइरहेको उनी बताउँछन् । ‘सवारी चालकहरू अनुशासनमा नबसी हिँड्दा सडकमा अराजकता र दुर्घटना बढेको छ,’ कार्कीले भने, ‘त्यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ ।’

पछिल्लो समय ट्राफिक नियम उल्लंघनमा संलग्न सवारी साधनमाथि कारबाही गर्दै ५५ लाख रुपैयाँ बराबरको जरिबाना गरिएको जानकारी उनले दिए । प्रहरीले ट्राफिक व्यवस्था चुस्त बनाउँदै नियम उल्लंघन गर्नेमाथि कारबाही गरी दुर्घटनालाई जनसुरक्षासँग जोडेर जनचेतानमूलक कार्यक्रम गरिरहेको कार्कीले बताए ।

कार्कीका अनुसार प्रदेशभरका प्रहरी कार्यालयहरूको निरीक्षण र अनुगमन क्रमशः भइरहेको छ। केही कार्यालयको अनुगमन सम्पन्न भइसकेको छ भने केही ‘पाइपलाइन’मा रहेको उनी बताउँछन् ।

प्रहरी संगठनको साख र जनविश्वास जोगाउन आन्तरिक अनुशासनलाई बलियो बनाउने पक्षमा आफू रहेको उनी बताउँछन् । ‘नेपाल प्रहरीको संस्थागत रुपमा गल्ती हुँदैन । तर, व्यक्ति विशेषको बदमासी हुन सक्छ । यदि कसैको चरित्र राम्रो छैन भने सुधार गर्नै पर्छ । सुधारका लागि तयार छौं । प्रहरीको आन्तरिक अनुशासन कायम गर्छौं,’ कार्कीले भने ।

कानुनले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता उनले जनाए । तर, सबै काम प्रहरी एक्लैबाट सम्भव नहुने भन्दै कार्कीले सबै पक्षको सहकार्य र सहयोगबाट मात्रै परिवर्तन सम्भव रहेको उल्लेख गरे ।

कोशी प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी दिँदै उनले सामुदाय–प्रहरी साझेदारीअन्तर्गत जनचेतनामुलक कार्यक्रमलाई तीव्र बनाइने बताए । ट्राफिक समस्याको समाधान, तस्करी, लागुऔषध कारोबार एवं ओसारपसार तथा विभिन्न खालका अपराध नियन्त्रण गर्दै दीर्घकालीन समाधानका लागि नीतिगत रूपमै परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

‘प्रहरीले आफ्नो जिम्मेवारी अनुसार नियमित कामकारबाही गरिरहेकै छ । तर, धेरै कुराका लागि नीतिगत परिवर्तन नै आवश्यक देखिन्छ,’ डीआईजी कार्कीले भने । उनले ‘काउन्टर पार्ट’सँगको बैठकमा पनि लागुऔषध, सीमा अपराध एवं तस्करी नियन्त्रण सम्बन्धी कुरा उठाउने गरिएको जानकारी दिए ।

प्रहरी प्रशासनप्रति जनविश्वास जगाउने र परिणाममुखी प्रहरी सेवा प्रदान गर्ने आफ्नो उद्देश्य रहेको कार्की बताउँछन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र ‘बेस्ट पुलिसिङ’लगायत आफ्नो प्राथमिकतामा रहेको डीआईजी कार्कीले बताए । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी गोविन्द अधिकारी, एसपी हरि डंगोललगायतका प्रहरी अधिकृतहरु उपस्थित थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.