
विराटनगर । सुनसरीको झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते १२ जना कैदी फरार भए । भित्री भागमा सुरुङ खनेर भाग्नेमध्ये केही पक्राउ परे । केहीको खोजी जारी छ ।
त्यतिबेला सुनसरीको गढी गाउँपालिका–५ होलैया (साविकको सत्तेरझोडा–६)का विनायककुमार यादव फरार भएका थिए । कुख्यात अपराधी विनायक सप्तरीको गोबरगाडाबाट पक्राउ परे । त्यसपछि उनलाई सिन्धुपाल्चोक कारागार चलान गरियो ।
तर, सिन्धुपाल्चोक कारागारबाट पनि उनी भाग्न सफल भए । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण कारागारको भवनमा क्षति पुग्यो । त्यही मौका छोपेर विनायक दोस्रोपटक कारागारबाट फरार भएका हुन् ।
कारागारबाट फुत्किएपछि बाहिरै रहेका उनलाई सुनसरीबाट प्रहरीले २०८१ कात्तिक २२ गते पक्राउ गर्यो । नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि गोली हानेर पक्राउ गरिएको थियो ।
प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत कोशी गाउँपालिका–८ स्थित पत्थरचट्टानबाट पक्राउ गरेर बुझाएपछि जिल्ला अदालत सुनसरीले विनायकलाई कैद सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरेको छ । लामो समयसम्म भारतमा लुकेर बसेका उनी अहिले सजाय भुक्तान गरिरहेका छन् ।
दुईपटक जेल ‘ब्रेक’ गरेर भागेका विनायककुमार यादव कुख्यात अपराधी हुन् । गोली हानेर केशव कार्कीको हत्या गरेको अभियोगमा यादवलाई अदालतले दोषी ठहर गरेको थियो ।
उनलाई कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा सुनसरी अदालतले २०६५ साल जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद सजाय हुने फैसला सुनाएको थियो । विनायकसहित श्यामकुमार यादवले २०६५ साल वैशाख १६ गते सुनसरी प्रकाशपुरका ३९ वर्षीय केशव कार्कीमाथि गोली हानेका थिए । उपचारका क्रममा कार्कीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
त्यस्तै, जिल्ला अदालत धनकुटाले २०७० साल पुस ४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ३७ वर्षीय शम्भु सिक्तेन राईलाई २० वर्ष कैद सजायको फैसला गर्यो । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका उनी सजाय भुक्तान नगरिकन लामो समयसम्म फरार भए ।
सुनसरीको इलाका प्रहरी कार्यालय चतराको टोलीले ११ वर्षपछि अर्थात्, २०८१ साल चैत ३ गते पक्राउ गर्यो । प्रहरीले बुझाएपछि शम्भुलाई सजाय भुक्तानका लागि सुनसरी जिल्ला अदालतले झुम्का कारागार चलान गर्यो ।
यसैबीच, निशान्तकुमार चौधरी कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतबाटै दोषी ठहर भए । रामधुनी नगरपालिका–७ का निशान्तलाई अदालतले २०८० साल चैत ९ गते १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको थियो ।
सजाय भुक्तान नगरिकन लुकिपिछी बस्दै आएका उनलाई प्रहरीले २०८१ पुस २८ गते राति पक्राउ गर्यो । प्रहरीले पेस गरेपछि अदालतले निशान्तलाई सजाय भुक्तानका लागि कारागार चलान गर्यो ।

पक्राउ परेका फरार प्रतिवादीहरु ।
विनायक, शम्भु र निशान्तजस्ता अपराधीहरु सुनसरीबाट पक्राउ पर्ने क्रम जारी छ । अपराधमा संलग्न भएर अदालतले दोषी ठहर गर्दै कैद तथा जरिबानाको फैसला सुनाएको भए पनि सजाय भुक्तान नगरी फरार भइरहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा अभियान चलाएको प्रहरीले चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिना अर्थात् वैशाखसम्ममा जघन्यदेखि विभिन्न खालका अपराधमा दोषी ठहर भइसकेका ९ सय ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ ।
उनका अनुसार सूक्ष्म अनुसन्धान गरेर खोजी तीव्र पारिएसँगै प्रतिवादीहरु धमाधम पक्राउ परिरहेका छन् । अपराध गरेर भागिरहेका अपराधी पक्राउमा सुनसरी प्रहरीले उल्लेख्य सफलता हासिल गर्दा धेरै वर्ष कैद र ठूलो रकम जरिबाना असुल भएको छ । अदालतको फैसला कार्यान्वयनअन्तर्गत प्रतिवादी पक्राउका लागि विशेष अभियान नै चलाइएको डीएसपी खतिवडाले बताए ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा अभियान चलाएको प्रहरीले चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिना अर्थात् वैशाखसम्ममा जघन्यदेखि विभिन्न खालका अपराधमा दोषी ठहर भइसकेका ९ सय ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । प्रतिवादी पक्राउ गरेर २ सय ४९ वर्ष ३ महिना २२ दिन कैद र १४ करोड ४० लाख २ हजार ९९ रूपैयाँ जरिबाना असुल गरिएको जानकारी डीएसपी खतिवडाले दिए ।

पक्राउ पर्नेमा कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाँकाजस्ता जघन्यदेखि विभिन्न अपराधका फरार प्रतिवादीहरु छन् । विगत वर्षको तुलनामा सुनसरी प्रहरीले अपराध गरेर भागिरहेका प्रतिवादी पक्राउमा राम्रो सफलता हात पारेको तथ्यांकले देखाउँछ ।
सुनसरी प्रहरीले आर्थिक वर्ष २०८०–०८१ मा १५५ जना फरार प्रतिवादी पक्राउ गरेर १ सय ९७ वर्ष १० महिना ७ दिन कैद र ६ करोड ८८ लाख ७७ हजार २ सय ८ रूपैयाँ जरिबाना असुल गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ५ सय ५२ जना प्रतिवादी पक्राउ पर्दा कैदबापतको १ सय ६५ वर्ष ५ महिना १६ दिन तथा जरिबानाबापतको ४० लाख ७५ हजार ४ सय ४४ रूपैयाँ असुल भएको थियो ।
चालु आर्थिक वर्ष सकिँदासम्ममा सुनसरीबाट पक्राउ पर्ने प्रतिवादीको संख्या १ हजार नाघ्ने अनुमान गरिएको छ । अदालतबाट दोषी ठहर भए पनि अपराधमा संलग्न भएका ठूलो संख्याका व्यक्तिहरु कैद र जरिबाना भुक्तान नगरिकन लामो समयदेखि फरार छन् ।
फरार प्रतिवादी धमधम पक्राउ पर्न थालेपछि अपराध गरेर भागे पनि कानुनले छाड्ने रहेनछभन्ने सन्देश प्रवाह भएको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर अपराधीलाई पक्राउ गर्दै समाजमा अपराध न्यूनीकरणका लागि प्रहरीले सकारात्मक भूमिका खेलिरहेको छ ।
सुनसरीमा अपराधमा संलग्न २ हजार २ सय १३ जना अझैसम्म फरार छन् । उनीहरुबाट ३ हजार १ सय ६० वर्षभन्दा बढी कैद र १७ करोड ७३ लाख ६५ हजार रूपैयाँभन्दा बढी जरिबाना असुल्न बाँकी छ । फरार प्रतिवादी पक्राउलाई निरन्तरता दिएर खोजी तीव्र पारिएको डीएसपी खतिवडाको भनाइ छ ।
एसपी तिम्सिना फरार प्रतिवादी धमधम पक्राउ पर्न थालेपछि अपराध गरेर भागे पनि कानुनले छाड्ने रहेनछभन्ने सन्देश प्रवाह भएको बताउँछन् । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर अपराधीलाई पक्राउ गर्दै समाजमा अपराध न्यूनीकरणका लागि प्रहरीले सकारात्मक भूमिका खेलिरहेको उनको भनाइ छ ।
‘घरगाउँमै लुकिछिपी बसिरहेका प्रतिवादीहरु धामाधम पक्राउ पर्न थालेपछि अपराधबाट पीडित भएकाहरुले न्यायको महसुस गर्न थालेका छन् । साथै, समग्र शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानमा पनि मद्धत पुगेको छ,’ एसपी तिम्सिना भन्छन् । उनले पीडितलाई न्याय दिनु नै प्रहरीको प्रमुख दायित्व भएको बताए ।

उनका अनुसार जघन्यदेखि विभिन्न अपराधमा संलग्न अपराधीहरु लामो समयदेखि पक्राउ नपर्दा पीडितले न्यायको अनुभूति गर्न नपाउनु स्वभाविक हो । ‘अपराधीलाई कानुनको कठघरामा ल्याइसकेपछि प्रहरीको काम कारबाहीप्रति जनविश्वास बढ्न थालेको छ । कानुनप्रतिको भरोसा बढेको छ,’ उनी भन्छन्, ‘प्रहरीको सक्रियताका कारण पीडितले न्यायको महसुस गर्न पाएका छन् । अपराध गरेमा कानुनबाट उम्किन सकिँदैनभन्ने सकारात्मक सन्देश गएको छ ।’
फरार केन्द्रित बनेको प्रहरीले पक्राउ गरेर बुझाएपछि प्रतिवादीलाई अदालतले कैद सजाय भुक्तानका लागि करागार चलान गर्ने गरेको छ । जरिबाना गरिएकासँग भने त्यसबापतको रकम असुलेर छाड्ने गरिन्छ ।
ढिलो चाँडो मात्रै हो । अपराध गरेर भागेकाहरु कानुनी दायरामा आउँछन् । अदालतबाट पूर्ण विवरण लिएर सजाय तोकिएका व्यक्तिलाई पक्राउ गर्ने गरिन्छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर प्रदेशभरि प्रहरीले फरार प्रतिवादी पक्राउलाई तीव्र पारेको बताउँछन् । ‘ढिलो चाँडो मात्रै हो । अपराध गरेर भागेकाहरु कानुनी दायरामा आउँछन् । अदालतबाट दोषी ठहर भए पनि अपराधमा संलग्न ठूलो संख्याका व्यक्तिहरु फरार छन् । अदालतबाट पूर्ण विवरण लिएर सजाय तोकिएका व्यक्तिलाई पक्राउ गर्ने गरिन्छ,’ उनले भने ।
प्रतिवादी पक्राउ परेसँगै कैद र जरिबाना असुलीमा उल्लेख्य सफलता मिलेको कार्कीको भनाइ छ । अपराधमा संलग्न कारबाहीको दायरामा नआउँदा कानुन कार्यान्वयनमा चुनौती थपिनुका साथै पीडितले न्यायको अनुभूति गर्न नपाएको तथा विधिको शासनको उपहास भएको डीआईजी कार्कीले बताए ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की ।
‘कानुनको नजर र प्रहरीको पञ्जाबाट अपराधी उम्किने कुरै छैन । अपराधमा संलग्नले कानुनले तोकेको सजाय पाउनु पर्छ भनेर प्रहरी सचेत छ । त्यही हिसाबले सक्रियता बढाइएको छ,’ उनी भन्छन् । कतिपयको नाम, थर र वतन स्पष्ट नहुँदा पक्राउमा समस्या हुने गरेको प्रहरीको अनुभव छ ।
अपराध गरेपछि प्रहरीले पक्राउ गर्न नसक्दा कतिपय सुरुमै फरार हुने गरेका छन् । लामो समयसम्म पक्राउ गरेर उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सकिएको छैन । कतिपय अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने र मुद्दाको किनारा लगाउँदा दोषी ठहर गरेपछि फरार हुने गरेको प्रहरीको भनाइ छ ।

























