
विराटनगर । विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा रहेको रासायनिक मल हिनामिना प्रकरणमा भ्रष्टाचारी ठहर भएका १ जना व्यक्ति सुनसरीबाट पक्राउ परेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका–७ का ३५ वर्षीय खगेन्द्र बस्नेतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले बस्नेतलाई बिहान ७ः३० बजेतिर पक्राउ गरेको हो ।
साल्ट ट्रेडिङमा १२ वर्ष काम गरेर जागिर छाडेका बस्नेत आफ्नै घरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध २०७६ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । विशेषले २०७९ भदौ २८ गते उनलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
विशेष अदालतले दोषी ठहर गर्दै उनलाई २ वर्ष ६ महिना कैद सजाय र ९ लाख २८ हजार ६ सय ७५ रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । तर, बस्नेत कैद र जरिबाना भुक्तान नगरिकन फरार भइरहेका थिए ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रहेको रासायनिक मल हिनामिना गरी भ्रष्टचार गरेको मुद्दामा उनी विशेषबाट दोषी ठहर भएका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले सजाय भुक्तान नगरिकन फरार रहेका बस्नेतलाई खोजतलास गर्ने क्रममा फेला पारेर उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका बस्नेतलाई आइतबार नै जिल्ला अदालत सुनसरीमा बुझाएको छ । प्रहरीले पेस गरेपछि उनलाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।
के हो मलको भ्रष्टाचार प्रकरण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड विराटनगरका ३ जना कर्मचारीविरुद्ध २०७६ साल मंसिरमा मुद्दा दायर गरेको थियो । रासायनिक मलमा भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
विशेषले यो मुद्दा २०७९ भदौमा किनारा लगायो । अख्तियारले मुद्दामा साल्ट ट्रेडिङ विराटनगरका तत्कालीन प्रमुख नवीनचन्द्र झा, तत्कालीन प्रमुख सहायक दिलचन्द्र राई र तत्कालीन सहायक खगेन्द्र बस्नेतलाई प्रतिवादी बनाएको थियो ।
झा साल्ट ट्रेडिङ कर्पोरेशनको विराटनगर प्रमुख रहँदा १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बराबरको रासायनिक मल अनियमित तरिकाले बिक्री वितरण गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लाग्यो । उक्त प्रकरणमा राई र बस्नेतको पनि संलग्नता पुष्टि भएको थियो ।
अख्तियारले त्यतिबेला ३ जनाविरुद्ध जनही १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसारको जरिबाना र अधिकतम् ४ वर्षसम्म कैद सजायको माग दाबी गरेर मुद्दा दायर गरेको हो ।
झाले कार्यालयको गोदाममा मौज्दात रहेको रासायनिक मल अनियमित तरिकाले बिक्री वितरण गर्दा जिम्मेवारी वहन नगरेको पत्ता लाग्यो । त्यस्तै, आफ्नो जिम्मामा रहेको रासायनिक मल जिन्सी किताबमा आम्दानी देखाएर अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग राईमाथि लागको थियो ।
पदीय दायित्व पूरा नगरी सरकार र सार्वजनिक संस्थालाई हानि पुर्याएको अभियोग बस्नेतमाथि लाग्यो ।


























