डामेर छाडेका साँढे हुन् ऐयुब अन्सारी ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ २६, सोमबार १८:२३

‘जनप्रतिनिधि’ शब्द कसरी बन्यो ? जनताको प्रतिनिधि भएको हुनाले यसो भनिएको होइन ? जनताका सुख, दुःख र अप्ठ्याराहरुमा सहजीकरण गर्ने, जीवनस्तर सुधार गर्ने जिम्मेवारी तिनको हो कि होइन ?

सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको गतिविधि हेरेर भन्ने हो भने यो प्रश्नको जवाफ होइन भन्ने हुन सक्छ । किनभने उनले जनताका प्रतिनिधिको भूमिका होइन ‘टोले गुन्डा’ को जस्तो व्यवहार सार्वजनिक रुपमा प्रदर्शन गरेका छन् ।

गाडी चेकजाँच गरेको विषयमा उनले गाउँलेहरु उचालेर अश्लील शब्द प्रयोग गर्दै ट्राफिक प्रहरीलाई तथानाम गालीगलौज गरेको सार्वजनिक भएको छ, भिडियोसहित। त्यस्तो घटना भए पनि उल्टै उनको दबाबमा ट्राफिकको टोली साबिक ठाउँबाट अन्यत्र पठाइएको छ ।

यस्तो गर्दा गर्मी, जाडो, झरी नभनी कार्यक्षेत्रमा खटिने प्रहरीको मनोबल कमजोर बनेको छ । बनेको छ के भन्नु बनाइएको छ । अन्सारीसँगको विवादपछि कोशी गाउँपालिका–२ स्थित कोशी कटान क्षेत्रमा पूर्वपश्चिम राजमार्ग सुरक्षाका लागि खटिएका ९ जना ट्राफिक प्रहरीको टोली हटाइएको हो ।

घटना यस्तो हो– शुक्रबार कोशी कटान क्षेत्रमा बाँस ‘ओभरलोड’ गरिएको ट्याक्टर जाँच गर्दा कागजात भेटिएन । ट्राफिक प्रहरीले रोकेर जरिबाना काट्ने तयारी गर्यो । ट्याक्टर आफ्नो हो भन्दै दलबलसहित गाउँपालिका अध्यक्ष अन्सारी पुगे । ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरे । घुस खाएको आरोप लगाए । यतिमात्र कहाँ हो र ? कुटेर मार्ने धम्की पनि दिए ।

उनीसँग विवाद भएको केही समयमै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी कटान क्षेत्रमा खटिएका प्रहरी नायव निरीक्षक (सई) कमलप्रसाद दाहाल नेतृत्वको ९ जनाको टोलीलाई फिर्ता बोलायो ।

दाहालको स्थानमा प्रहरी सहायक निरीक्षक (असई) राजाराम यादवको नेतृत्वमा नयाँ टोली खटायो । यो कस्तो लाचारी ? उनीहरुबाट गल्ती भएको भए सोधखोज अनुसन्धान गर्नु पर्थ्यो । गलत मनसायप्रेरित झ्वाँकका भरमा टोलीलाई अदलीबदली गर्ने ? यसो गर्दा कर्तव्य पालनमा खटिएका प्रहरी टोलीका सदस्य को मनोबल कस्तो हुन्छ ? यतातिर ध्यान दिनु पर्दैन ?

मनोबल गिराउने गरी कारबाही गरिसकेपछि छानबिनका लागि ४ सदस्यीय टोली गठन भएको छ । सुनसरीका डीएसपी योगराज खतिवडाको संयोजकत्वमा समिति गठन गरेर छानबिनको प्रक्रिया अघि बढाइएको छ ।

यो घटनामा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीको ‘अध्यक्षको अभिव्यक्ति टिप्पणी गर्न लायक नभएको’ भन्ने अभिव्यक्ति नै ती जनप्रतिनिधि लायक हुन् कि होइनन् भन्ने पुष्टि गर्न पर्याप्त छ ।

यो प्रसंग हचुवाका भरमा आएको होइन । ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै अध्यक्ष अन्सारीले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा उनले पदको मर्यादा नराखी अश्लील शब्द प्रयोग गरेर प्रहरीलाई ज्यान मार्ने र कोशीमा ट्राफिक प्रहरी नचाहिने समेतको धम्की दिएको सुन्न सकिन्छ ।

पालिका उनको मात्रै हो ? प्रदेश उनको बिर्ता हो ? नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका अन्सारीमाथि सीमा क्षेत्रबाट तस्करीको लाइन चलाउने गरेको आरोप लाग्दै आएको छ । उनी निर्माण व्यवसायी (ठेकेदार) पनि हुन् । यस्तोमा सम्बन्धित पार्टीले पनि चासो राखेर उनलाई ऐना देखाउनु पर्दैन ?

श्रव्यदृश्यसहितको प्रमाण जनजनमा पुग्दासम्म उनी र सम्बन्धित घटनाको अनुसन्धान गर्ने नाटक किन गर्नु ? ठिक छ, प्रक्रिया पुर्याउन, औपचारिकताका लागि छानबिन गर्नु अन्यथा होइन तर सबै कुरा उनको गलत व्यवहार, मनसाय र प्रवृत्ति झल्कने प्रष्ट भइसके पछि पनि ‘डामेर छाडेको साँढे’ जस्तो उन्मुक्ति दिइरहने हो भने किन चाहियो प्रहरी ? किन चाहियो प्रशासन ? छानबिन हुँदै गर्छ, तत्काल देखिएको प्रमाण र प्रत्यक्षदर्शीको बयानका आधारमा तत्काल ऐयुब अन्सारीमाथि कारबाही गर ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.